निजी क्षेत्रका डाक्टरले धान्दै जिल्ला अस्पताल
१४ साउन, डाेटी । चार जना सरकारी चिकित्सकको दरबन्दी रहेको डोटी अस्पतालमा पछिल्लो समय गैरसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा काम सञ्चालन हुँदै आएको छ । अस्पतालमा नवाैँ र दशौँ तहका दुई जना र मेडिकल अधिकृत दुई जना गरी कूल चार जनाको दरबन्दी भए पनि एक जना मेडिकल अधिकृत डा भूषण मिश्र मात्रै कार्यरत हुनुहुन्छ् । उहाँले निमित्त मेडिकल सुपरिटेन्डेण्ट भएर अस्पताल चलाइरहनुभएको छ ।
अस्पतालमा सरकारी डाक्टर नभएपछि गैरसरकारी संस्था निक साइमन इन्टरनेशनलले दुई जना चिकित्सक उपलब्ध गराएको छ । एमडिजिबी गर्नुभएका डा गिरिश अवस्थी र एमबिबिएस गर्नुभएका डा खुसिद आलम खान रहेका छन् । अस्पतालमा दरबन्दीअनुसारका डाक्टर नहुँदा निकै समस्या भएको निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा भूषण मिश्रले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अस्पतालमा दरबन्दीका डाक्टर छैनन्, संस्थाले खटाएका साथी भएकाले केही सहज भएको छ, नत्र मलाई नै हम्मेहम्मे पथ्र्यो । अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक अभावका कारण स्वास्थ्य सेवा विस्तारमा समस्या आएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा दरबन्दी अनुसारका डाक्टरको सङ्ख्या कमी भए पनि स्वास्थ्यकर्मीको दरबन्दी भने पूर्ण रहेको छ ।
अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्न पर्याप्त संरचना बनेका भए पनि अस्पतालमा अहिलेसम्म जम्मा १५ श्यया मात्रै स्वीकृत छ । सरकारले ५० श्ययाका अस्पताल बनाउने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन । भौतिक पूर्वाधार तयार भएको रिपोर्टसहितको ५० श्ययाको अस्पतालको माग गरिएपनि सरकारी निकायबाट नै कार्यान्वयन गर्ने भन्ने आदेश नआएकाले ५० श्ययाको अस्पताल बनाउन नसकिएको अस्पताल प्रशासनको दाबी छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा अझै पनि एउटा राम्रो अस्पताल नभएकाले सरकारको तत्कालै ध्यान दिई स्तरोन्नति गर्नुपर्ने जिल्ला अस्पताल डोटीमा कार्यरत डा गिरीश अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “संरचना तयार भइसकेको अस्पताललाई स्वीकृति प्रदान गर्न हिच्किचाउनु हँुदैन, स्वीकृति दिँदा राम्रो हुनेछ ।” उहाँका अनुसार जिल्लामा राम्रो अस्पताल नभएकै कारण ९० प्रतिशत हाडजोर्नीका बिरामी भारत र नेपालगञ्ज पठाउर्नुपर्ने अवस्था छ ।
संरचना तयार भइसक्दा अस्पताललाई स्वीकृति नदिनु दुःखद् भएको दिपायल सिलगढी नगरपालिकाका पूर्वनगर प्रमुख पूर्णराज जोशीले बताउनुभयो । डोटीमा क्षेत्रीय अस्पताल निर्माणका लागि खरीद गरिएको जग्गा वर्षौंदेखि अलपत्रमा परेको छ । दिपायल सिलगढी नगरपालिकाको बागठाँटामा रहेको उक्त क्षेत्रीय अस्पताल निर्माणका लागि खरीद गरिएको जमीन प्रयोगमा नआउँदा वर्षेनी गौचरनमा परिणत हुँदै आएको छ ।
प्रकाशित मिति : July 30, 2019 at 1:10 pm









