नेपाल ट्रष्टको सम्पत्ति कसैले हडप्न सक्दैनः उपप्रधानमन्त्री पोखरेल
११ साउन, काठमाडाैँ । गोकर्णस्थित नेपाल ट्रष्टको कार्यालयका कारण स्थानीयवासी र बस्तीमा परेका समस्या दुई साताभित्र समाधान गरिने भएको छ। ट्रष्टको अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ४ क्षेत्रमा पर्ने जग्गाको स्थलगत अनुगमन गर्नु भई केही दिनमै समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

‘यहाँ आइपरेका समस्या समाधानका लागि नगरपालिका र ट्रष्टको कार्यालयबीच १० दिनमै काम हुन्छ, पहिले समाधान हुन नसकेको पुनरावृत्ति अब हुने छैन, तत्कालका लागि आवश्यक पर्ने काम छिटो गरी समस्या समाधान हुनेछ’, उहाले भन्नुभयो। ट्रष्टको सम्पत्ति रक्षा गर्न दीर्घकालीन योजना बनाएर अघि बढ्ने प्रतिवद्धता पनि उपप्रधानमन्त्री पोखरेलले व्यक्त गर्नुभएको थियो । ट्रष्ट कानून र नियमका आधारमा चल्ने भएकाले सम्पत्ति कसैले हडप्न नपाउने उहाँको भनाइ थियो ।

राज निकुञ्जका नाममा चिनिने गोकर्ण रिसोर्ट रहेको करिब चार हजार रोपनी क्षेत्रफललाई घेरेर बनाइएको पर्खाल भत्कँदा दुई साता अघिको भारी वर्षाका कारण माकालबारीको बस्ती डुबानमा परेको थियो। ट्रष्टको जग्गाको निकास माकालबारीमा बनेकाले बास उठ्न लागेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। अवलोकनका क्रममाा सङ्घीय सांसद कृष्ण राई, प्रदेशसभा सदस्य रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ, वडा सदस्य जयराम महतलगायत जनप्रतिनिधि पनि सहभागी थिए।

प्रकाशित मिति : 21:55









