‘रअ’ का प्रमुखसँग भेटेको छैनः पूर्वराजा ज्ञानेन्द्र
१० साउन, काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखसँग भेटवार्ता नभएको बताउनु बताएका छन् । ‘रअ’का प्रमुख नेपाल आएकाे र विभिन्न दलका शीर्ष नेताहरूसँगकाे भेटघाटपछि पूर्वराजा ज्ञानेन्द्रसँग पनि भेटघाट गरेका खवरहरु बाहिरिएपछि पूर्व राजा शाहले त्यस्ताे बताएका हुन् ।

‘रअ’का प्रमुखसँग भेटेकाे भनेर अनलाईन मिडियाबाट समाचार प्रकाशन गरिएको प्रति पूर्व राजा शाहका निजी सचिव डा. फणिराज पाठकले आपत्ति जनाएका छन् । विज्ञप्ति प्रकाशित गर्दै डा. पाठकले उक्त समाचार कपोलकल्पित, मनगढन्त र राष्ट्रको गरिमा घटाउने प्रकृतिको रहेको उल्लेख गरेका छन् ।
सो विज्ञप्तिमा भनिएको छ– पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतीय गुप्तचर संस्था ’रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाइन पत्रिकामा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहन्छु । यस्ता कपोलकल्पित, मनगढन्त र राष्ट्रको गरिमा घटाउने समाचारले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार संप्रेषण गरेर पत्रकारिताको धर्म र समाजप्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु ।’
प्रकाशित मिति : 11:48









