१० कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026

रोजगारी सिर्जना हुनेगरी लगानी गर्नुस्ः मन्त्री विष्ट

७ साउन, काठमाडाैँ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाल राजनीतिक स्थायित्वसँगै अगाडि बढेको भन्दै थप रोजगारीका अवसर सिर्जना हुने गरी लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गर्नुभयो । काठमाडौँस्थित गणतन्त्र कोरियाली दूतावास र अङ्कुर नेपाल संस्थाले आज यहाँ आयोजना गरेको ‘गणतन्त्र कोरियाको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका’ विषयको कार्यशालालाई सम्बोधन गर्दै उहाँले नोपलमा कृषि ऊर्जा, पर्यटन, खनिजलगायत क्षेत्रमा लगानीको प्रचूर सम्भावना रहेको बताउनुभयो ।

“नेपालमा लगानीको थुप्रै सम्भावना छन्”, मन्त्री विष्टले भन्नुभयो, “रोजगारीका सिर्जना हुने गरी लगानी गर्नुहोस् ।” दुई देशका निजी क्षेत्रबीच असल औद्योगिक तथा व्यापारिक सम्बन्ध बनाउन आग्रह गर्नुभयो । अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली युवा अत्यन्त इमान्दार कामदारका रुपमा चिनिएको उल्लेख गर्दै मन्त्री विष्टले कोरियामा लुकेर बस्ने प्रवृत्तिको अत्य गर्नु आवश्यक भएको बताउनुभयो । उहाँले करार अवधि सकिएपछि नेपाल फर्कन र अवैधरुपमा नबस्न आग्रह गर्नुभयो ।

वार्षिक अर्बौ रकम विप्रेषणका रुपमा नेपाल भित्रिए पनि झन्डै ९० प्रतिशत बढी उपभोग्य वस्तुको खरिदमा खर्च भएको तथ्य पेश गर्दै मन्त्री विष्टले विप्रेषणलाई पूँजी निर्माणमा लगाउन आग्रह गर्नुभयो । “विदेश पठाएको रकम खर्चमात्रै भएको छ, यसबाट पूँजी निर्माण हुन सकेको छैन”, उहाँले भन्नुभयो, “ठूलो हिस्सा बचत गर्न र पूँजी निर्माणमा लगाउन ढिला गर्न हुँदैन ।” उहाँले सानो लगानी भए पनि उद्यमी मानसिकताका साथ रोजगारी सिर्जना गर्नेतर्फ अगाडि बढ्न आग्रह गर्नुभयो ।

वैदेशिक रोजगारीलाई सुरक्षित र बढीभन्दा बढी प्रतिफलमुखी बनाउन सरकारको ध्यान केन्द्रित भएको उल्लेख गर्दै उहाँले नेपाली युवालाई सीपयुक्त बनाउन कोरिया सरकारको सहयोगको अपेक्षा गर्नुभयो । मन्त्री विष्टले भन्नुभयो, “उल्लेख्य मात्रामा जनशक्ति उत्पादन गर्न सीप केन्द्र स्थापना गर्न छलफल गरौँ ।”

सो अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङ सिकले कोरिया सरकारको आर्थिक तथा प्राविधिक सहायतामा थुप्रै आयोजना सञ्चालनमा भइरहेको बताउनुभयो । कोरिया सरकारले श्रम बजारमा नेपाली युवालाई प्राथमिकता दिएको उहाँको भनाइ थियो । अर्थशास्त्री विश्व पौडेलले कोरियाबाट फर्केका युवालाई कृषि, ऊर्जा, होटललगायत क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

दक्षिण कोरिया सरकारले सन् २००८ देखि नेपाली युवालाई कोरियाको श्रम बजारमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । सन् २००७ मा नेपाली कामदारलाई कोरियामा रोजगारीका अवसर उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको थियो । हालसम्म दक्षिण कोरियामा ६३ हजार नेपालीले रोजगारीका अवसर प्राप्त गरेका छन् । कोरियाले रोजगार अनुमति प्रणालीमार्फत नेपाली युवालाई कोरिया लैजाँदै आएको छ ।

प्रकाशित मिति : July 23, 2019 at 6:09 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/