१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

अत्यावश्यक सवारी साधन खरीदका लागि दिइएको रकम फ्रिज हुँदैनः मुख्यमन्त्री पौडेल

६ साउन, हेटौँडा । प्रदेश नं ३ सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले १२ वटा विभिन्न निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्ने, दमकल, एम्बुलेन्स तथा शववाहन खरीद गर्न ससर्त अनुदानस्वरुप प्रदान गरेको रकम फ्रिज नगर्नेलगायतका निर्णय गरेको हो ।

यसबाहेक बैठकले प्रदेश सार्वजनिक खरीद नियमावली २०७६ स्वीकृत गर्ने, ११आँै तहका स्वास्थ्य सेवाका कर्मचारीहरु पदस्थापन गर्ने, स्थानीय तहमा कानूनी सहजकर्ता नियुक्ति गर्ने कार्यविधि २०७६ स्वीकृत गर्ने, द्वन्द्व प्रभावित परिवारलाई सहायता गर्ने कार्यविधि २०७६ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो ।

यस्तै बैठकले एक विद्यालय एक नर्स सञ्चालन कार्यविधि २०७६ स्वीकृत गर्ने, प्रदेश राजपत्र प्रकाशनसम्बन्धी निर्देशिका २०७६ स्वीकृत गर्ने, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास बैंकबीच समझदारी गरी कार्य गर्ने निर्णय गरेको छ । यसैगरी सार्वजनिक निर्माण कार्यान्वयन एकाइको समयावधि थप गर्ने, एकाइको कार्यक्षेत्र थपघट तथा सङ्गठनको संशोधित दरबन्दी तेरिज स्वीकृति एवं कार्यालयको स्थान गर्ने, प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाका धर्मपत्नी कान्छीमाया लामाको मृत्युको शोक प्रस्ताव पारित गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता ढुङ्गेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 18:28