१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

समृद्धिको नवीन अध्यायमा प्रवेश गरेको मुलुक रक्तपातका दृश्य पुनः सामना गर्न किमार्थ तयार छैन

२५ असार, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भोजपुरमा आज प्रहरी जवान सञ्जीव राईले कर्तव्य पालना क्रममा जीवन गुमाएको र नेत्र विक्रम चन्दले नेतृत्व गरेको समूहका कार्यकर्ता निरकुमार राई मारिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्तिमार्फत दशक लामो हिंसात्मक द्वन्द्वबाट शान्ति र समृद्धिको नवीन अध्यायमा प्रवेश गरेको मुलुक रक्तपातका दृश्य पुनः सामना गर्न किमार्थ तयार नभएको उल्लेख गर्नुभएको छ । मुलुकका विभिन्न स्थानमा यसअघि भएका र आजको घटनाले अव विषयलाई गम्भीर रुपमा लिन र समाधानको खोजी गर्न सरकार र विद्रोही दुवै पक्षलाई पर्याप्त दबाब बढाएको भन्ने काङ्ग्रेसको अपेक्षा छ ।

काङ्ग्रेसले विद्रोही विप्लव समूहलाई हत्याहिंसाको मार्ग तत्काल परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन पुनः अपिल गर्दै विगतमा हिंसात्मक विद्रोहले अन्ततः त्यो मार्ग परित्याग गरेर मात्रै समाधानमा योगदान गर्न सकेको तथ्य स्मरण गराएको छ ।

“संविधानलाई अस्वीकार गरेर गतिविधि गरिरहेका सबै खाले समूहलाई वार्तामार्फत विश्वासमा लिने कर्तव्य सरकारको हो । हिजोको माओवादी विद्रोहलाई बल प्रयोगबाट समाधान गर्ने नीति परित्याग गरेर अन्तत वार्ताबाट रुपान्तरित गरेको काङ्ग्रेस नेतृत्वको सफल अनुभवको स्मृति वर्तमान सरकारले गर्नु यतिबेला सान्दर्भिक हुनेछ”, विज्ञप्तिमा उल्लेख छ ।

काङ्ग्रेसले जनताको बलिदानिपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै मुलुकको समग्र अग्रगतिका लागि संवादमार्फत समाधान पहिल्याउन तथा शान्तिपूर्ण समाधानको विकल्प रोज्न अपिल गरेको छ । सर्लाही घटनाको संसदीय छानबिनको माग गर्दै आएको काङ्ग्रेसले भोजपुरको आजको घटनाको वास्तविक विवरण तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : July 10, 2019 at 9:30 pm