११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

प्रमुख चाडपर्व सकिएपछि आन्दोलनको आँधीबेहरी ल्याउने चर्चा चल्नु विडम्बनापूर्ण छः भट्टराई

१० कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिए लगत्तै सरकार परिवर्तन गर्ने वा ढाल्ने चर्चा चल्न थाल्नु विडम्बनापूर्ण र चिन्ताजनक भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म पूरा अवधि काम गर्न दिनुपर्ने बताएका छन्।

उनले लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धा र सहकार्य हुनु स्वाभाविक भएको उल्लेख गर्दै सरकारका कामको आलोचना र खबरदारी गर्नुपर्ने बताए। तर, निर्वाचन सम्पन्न भएको केही दिनदेखि नै सरकार ढाल्ने चर्चा गर्नु उचित नभएको उनको भनाइ छ।

उनले विगतमा पटकपटक सरकार परिवर्तन हुँदा त्यसको दुष्परिणाम देखिसकिएको उल्लेख गर्दै फेरि पनि त्यही प्रवृत्ति दोहोर्‍याउनु देशलाई अनिश्चिततातर्फ धकेल्नु भएको बताएका छन् ।

‘अब पनि दोहोर्याइरहनु भनेको देशलाई अनिश्चितताको भुमरीमा फसाइराख्ने, अर्थतन्त्रलाई पातालतिर धसाइराख्ने, छोराछोरी विदेशतिर लखेटेर बाबुआमा पुर्पुरोमा हात लगाएर बसिरहने, देशलाई मडारिँदो भूराजनीतिक आँधीबेहरीको जोखिममा होम्ने अल्पदृष्टि र पटमूर्खता बाहेक अरू के हुनसक्छ ?’ उनले लेखेका छन् ।

भट्टराईले उन्नत बहुदलीय लोकतन्त्रमा सत्ताधारी र प्रतिपक्षी दलबीच निरन्तर प्रतिस्पर्धा र सहकार्य हुनुका साथै सदन र सडकमा आलोचना–प्रत्यालोचना हुनु स्वाभाविक र आवश्यक भएको बताएका छन् । भट्टराईले देशको हित चाहने सबै नागरिकलाई सरकारका कामप्रति निरन्तर खबरदारी गर्न पनि आग्रह गरेका छन्।

विशेषगरी विपत्तिमा परेका, ऐतिहासिक वञ्चितीकरणमा परेका र गरिब तथा निमुखा जनताको आवाज सत्तामा रहेकाहरूले सुन्नुपर्ने उनको भनाइ छ । सरकारले जनताको आवाज नसुने विधिसम्मत प्रक्रियाबाट कारबाही गर्न र पदबाट हटाउनुपर्ने उनको भनाइ छ। तर, निर्वाचित सरकारलाई संविधानको सीमाभित्र रहेर पूरा कार्यकाल काम गर्न दिनुपर्ने उनले बताएका छन्। सरकारले राम्रो काम नगरे वा देशलाई बिगार्ने काम गरे अर्को निर्वाचनमार्फत बिदा गर्नुपर्ने भट्टराईको  धारणा छ।

प्रकाशित मिति : October 27, 2026 at 11:35 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/