२५ लाख पाउने लाेभले ४ वर्षीया छाेरीकाे जीवन बीमा गरेर हत्या गर्ने बाबु पक्राउ
२० असार, रौतहट । जीवन बीमा कम्पनीबाट २५ लाख पाउने लाेभले ४ वर्षीया छाेरीकाे हत्या गर्ने बाबु पक्राउ परेका छन् । रौतहटको मौलापुर नगरपालिका–६, पथरा बुधरामका रामकिशोर राय यादवले ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेकाे खुलासा भएकाे छ ।
घरमा सुतिरहेकै अवस्थामा असार १७ गते हराएकी लक्ष्मीको शव भोलिपल्ट बिहान गाँउकै एक पोखरीमा भेटिएको थियो । प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा लक्ष्मीका बुबा राम किशोरको गतिविधि शंकास्पद लागेपछि नियन्त्रणमा लिएर अनुसन्धान गरेकाे थियाे ।

हत्या गर्ने र बीमाको रकम निकाल्ने योजना अनुरुप राम किशोरले गरुडाको प्रभु लाइफ इन्सुरेन्स कम्पनीमा जेठ १९ गते छोरीको २५ लाखको जीवन बीमा गराएकाे अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ । राम किशोरले राति आमासँगै सुतिरहेकी छोरीलाई बोकेर लगेको र नाक मुख थुनेर हत्या गरी पोखरीमा फालेको स्वीकारेका छन् ।
प्रकाशित मिति : 12:16









