१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

उदाहरणीय वडा अध्यक्षः जसले सरकारी सुविधा त्यागेर तलबबाट वृद्धवृद्धालाई न्यानो कपडा बाँड्छन

२० असार, काठमाडाैँ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष डण्डु शेर्पाले सरकारले उहाँलाई दिने सेवा सुविधा सामाजिक काममा खर्च गर्ने बताउनुभएको छ । जनप्रतिनिधिका हिसाबले आफूले पाउने दैनिक भ्रमणभत्ता र मासिकरूपमा पाउँदै आएको पारिश्रमिकबापतको रकम सामाजिक कार्यमा खर्च गर्ने उहाँले बताउनुभयो । भर्खरै सम्पन्न गाउँसभामार्फत आफूले पाउने सेवासुविधा आफँैले उपभोग नगरी सामाजिक काममा खर्च गर्ने घोषणा गरेको भन्दै उहाँले अब बाँकी कार्यकालको सेवा सुविधा नलिने बताउनुभएको हो ।

दैनिक भ्रमणभत्ता लिँदै नलिई गाउँको विकासमा खर्च गर्ने र पारिश्रमिकबापत पाएको रकमले आफ्नो गाउँपालिकाभित्रका ७० वर्षमाथिका वृद्धवृद्धालाई न्यानो कपडा खरीद गरी वितरण गर्ने उहाँको भनाइ छ । “गाउँसभा चल्दै थियो, सबै जनप्रतिनिधिले सेवा सुविधा कम भयो भनेर गुनासो गरिरहेका थिए, तर मलाई चित्त दुखिरहेको थियो कि जनताले केही गरोस् भनेर जिताएर पठाएका हामीले नै सेवा सुविधा पुगेन भन्दै उनीहरुकै टाउकोमा ऋणको भार थपिरहेका छौँ भनेर, त्यहिबेला सेवा सुविधा नलिने भनेर निधो गरेको हूँ”, वडाध्यक्ष शेर्पाले भन्नुभयो ।

सामान्य सेवा सुविधा उपभोग गर्नु उचित भए पनि जनताको सेवा गर्न चुनिएको जनप्रतिनिधिले तिनै जनता र राज्यलाई नै ऋणको भार थपिने गरी सुविधा उपभोग गर्नु आफ्ना लागि उचित नभएको उहाँको भनाइ छ । यस्तै मासिकरूपमा पाउने पारिश्रमिकबापतको रकमले वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्नुका साथै आफ्नो वडाभित्रका विभिन्न शैक्षिक संस्थाका कार्यालय सहयोगीको तलब भत्तामा थप गरी दिने तयारी गरेको शेर्पाले बताउनुभयो । आफू जनप्रतिनिधि भएर आएपछि दैनिक भ्रमणभत्ताबापत करीब रु १५ हजार र पारिश्रमिकबापत रु १९ हजार पाउँदै आएको शेर्पाको भनाइ छ । शेर्पा तत्कालीन नयाँ शक्तिपार्टीबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए तर नयाँ शक्तिनै विघटन भएपछि उनी नेकपामा प्रवेश गर्ने तयारीमा रहेका छन ।

प्रकाशित मिति : 10:53