एकै स्थानबाट १५ जिल्ला देखिने नुवाकोटको चिम्टेश्वरमा यसरी हुँदैछ विकासका काम (फोटोफिचर)
–दुर्गा पुडासैनी
२० असार, नुवाकोट । नुवाकोटको बेल्कोटगढी नगरपालिकाको केन्द्रमा रहेको धार्मिक तथा एेतिहासिक पर्यटकीयस्थल चिम्टेश्वर जानका लागि वडा नं १ बाट सिँढी निर्माण कार्य भैरहेको छ । चिम्टेश्वर जान असहज भएपछि सिँढी निर्माण सुरू गरिएको हो । नगरपालिकाले चिम्टेश्वरसम्म पुग्नका लागि सिँढी निर्माण गर्न भनेर २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । यस सिढीँको निर्माणसँग अान्तरिक पर्यटक समेत बढ्ने अनुमान गरिएको छ।

डाँडामा भ्यू टावर पनि निर्माण हुँदैछ । स्थानीयको दशकौँदेखिको मागका वाबजुद अहिले बनेको वमापन्थी नेतृत्वको प्रदेश तीनको सरकारले चिम्टेश्वरमा ‘भ्यू टावर’ निर्माणका निम्ति बजेट विनियोजन गरेको हो । बजेट बिनयोजनसँगै चिम्टेश्वरको विकासमा ठूलो परिवर्तन अाउने विश्वास स्थानीयले लिएका छन ।
राजनीति गर्नेहरुकै कारण पछि पारिदै आएको ऐतिहासिकस्थल प्रचारको अभावमा ओझेलमा परेको थियो । विक्रम संवत २०७० सालमा पदयात्राका क्रममा हालका प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायतले यो ऐतिहासिकस्थलमा एक रात विताएका थिए । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको पहलमा भएको उक्त पदयात्रामा सयौँ मानिस सहभागी भएका थिए ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका तत्कालीन अध्यक्ष एवम् वरिष्ठ पर्यटन व्यवसायी चन्द्र रिजाल चिम्टेश्वर पर्यटकीय सम्भावना बोकेर बसेपनि स्थानीय तदारुकता कम हुँदा सबैको आँखामा पर्न नसकेको बताउँछन । उनी भन्छन, यस्ता महत्वपूर्ण गन्तव्यको प्रचार र प्रवर्द्धनका निम्ति स्थानीयले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ ।’
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा बेल्कोट र नुवाकोट आक्रमण गर्नका लागि बेलकोट, जिलिङ, कुमारी र दुईपिपल गाउँ विकास समितिको सँगमस्थल चिम्टेश्वर महादेवस्थानसँगै गढी निर्माण गरेका थिए । त्यस गढीलाई एकीकरण अभियानमा निर्मित पहिलो गढीका रूपमा इतिहासमा उल्लेख गरिएको पाइन्छ ।

अग्लो डाँडामा सैनिकहरू लुक्न बनाईएको सुरुङका अवशेषहरूले अझैपनि एकीकरण अभियानको स्मरण गराउँछ । पृथ्वीनारायण शाहले गढी निर्माण पछि चिम्टेश्वर महादेवको आराधना गरेपछि नुवाकोट विजय गरेको जनश्रुति समेत पाईन्छ । बेल्कोटगढीबाट लाङटाङ, गणेश, जुगल र मानापाथी हिमाल तथा तिब्बतको केरुङ, काठमाडौं, मकवानपुर जिल्ला, गोरखा सम्मको दृश्यावलोकन गर्न सकिन्छ ।
तत्कालीन वागमती अञ्चलका सबै जिल्ला जनकपुर अञ्चलका दोलखा र रामेछाप, नारायणी अञ्चलका मकवानपुर र चितवन तथा गण्डकी अञ्चलका गोरखा तथा लमजुङ र तनहुका हिमालहरुको एकै स्थानबाट दृश्यावलोकन गर्न सकिने स्थानीय समाजसेवी नारायण खनाल बताउँछन । अत्यन्तै सम्भावना युक्त ठाउँ भएर पनि विकास र प्रचारका निम्ति आर्थिक अभावले गर्दा काम हुन नसकेको उनको भनाइ छ ।



प्रकाशित मिति : 10:04









