५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

चिनियाँ पक्ष रसुवा बाहिरका चालक तथा सहचालकलाई १५ दिने पास दिन सहमत

१८ असार, रसुवा । रसुवा बाहिरका चालक तथा सहचालकलाई १५ दिने अस्थायी अनुमति पत्र (पास) दिनका लागि चिनियाँ पक्ष सहमत भएकाे छ । रसुवाको स्याफ्रुबेसीमा बुधबार बसेको दुई देशबीचको सीमा सुरक्षा बैठकमा नेपाली पक्षले पासको व्यवस्थापन गर्न आग्रह गरेका थिए । केही समयका लागि राहदानीमा छाप लगाएर १५ दिने अनुमति दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । गएको फागुन अन्तिमबाट पास दिने काम सुरुवात भएको भए पनि बढीमा सात दिनसम्मका लागि दिने गरिएको थियो । त्यसका लागि राहदानीमा चिनियाँ पक्षले छाप लगाएर अनुमति दिने गरेको थियो । यो पास पाएपछि कन्टेनरका चालक तथा सहचालक चीनको केरुङसम्म जान पाउँछन् ।

त्यसैगरी बैठकमा बाहिरी नागरिकका लागि चीन प्रवेशका लागि एक दिने प्रवेशाज्ञा उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ ।रसुवागढी नाकामा अवैध क्रियाकलाप रोक्न जोइन्ट कमाण्ड सेन्टरको स्थापना गर्ने, सुन तस्करी नियन्त्रणका लागि दुवै देशले जाँच बढाउने तथा महिलाहरू बेचबिखनमा पर्ने समस्या समाधानको लागि दुवै देशले निगरानी बढाउने सहमति भएको छ ।

प्रकाशित मिति : 18:07