५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

भूकम्पबाट विस्थापित परिवारलाई लालपुर्जा प्रदान

१६ असार, वालिङ । भूकम्पबाट विस्थापित भएका दुई घर परिवारलाई आइतबार लालपुर्जा प्रदान गरिएको छ । वालिङ नगरपालिका–२ वडाको तिलडाँडाबाट विस्थापित बनेका मित्रलाल दमै र सुनमती दमैको परिवारलाई लालपुर्जा प्रदान गरिएको वडाध्यक्ष पोतप्रसाद लम्सालले बताउनुभयो ।

जोखिमयुक्त बस्तीमा रहेका भूकम्पपीडित लाभग्राहीमा परेका र अन्यत्र बसोबासका लागि घर घडेरी नभएकाको घर परिवारलाई बढीमा रु दुई लाख दिन सक्ने प्रावधानअनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ स्याङ्जामार्फत आर्थिक सहयोग गरिएको स्याङ्जाका कार्यालय प्रमुख प्रवीण ढकालले बताउनुभयो ।

“भूकम्पकै कारण साविक बसेको ठाउँमा जमीन धाँजा फाटेकाले दुई घर परिवार विस्थापित भएका हुन्”, कार्यालय प्रमुख ढकालले भन्नुभयो, “यस ठाउँमा जस्तै जिल्लाका अन्य ठाउँमा पनि भूकम्पबाट विस्थापित बनेका परिवारलाई लालपुर्जा वितरणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।” राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ स्याङ्जामार्फत प्राप्त भएको रु दुई÷दुई लाख रकमबाट वडा कार्यालयको समन्वयमा आवश्यक प्रक्रिया पूरा गरी जग्गा खरीद गरी लालपुर्जा वितरण गरिएको वडाध्यक्ष लम्सालले बताउनुभयो ।

स्थानीय कृष्णप्रसाद काफ्ले र यज्ञप्रसाद काफ्लेको गैह्रा भन्ने स्थानमा रहेको आठ आना जग्गा खरीद गरी मित्रलाल दमै र मनकुमारी दमैको परिवारलाई प्रदान गरिएको हो भने सोही वडाको राक्सेस्थित प्रेमप्रसाद रेग्मीसँग नौ आना जग्गा खरीद गरी सुनमती दमैको परिवारलाई प्रदान गरिएको वडाध्यक्ष लम्सालले बताउनुभयो ।

“दलित समुदायको बाक्लो बस्ती रहेको तिलडाँडामा भूकम्पपश्चात् भूगर्भविद्बाट अध्ययन अवलोकन गरी बस्न नहुने भएपछि दुई घर परिवार विस्थापित हुनुभएको हो”, वडाध्यक्ष लम्सालले भन्नुभयो, “आफ्नो भएको घरमा बस्न नहुने र घर बनाउने अर्को उपयुक्त जग्गा नभएपछि प्राधिकरणमार्फत जग्गा खरीद गरी लालपुर्जा प्रदान गरिएको हो ।”

यसअघि गत चैतमा घरबारविहीन भई चौरमा बस्दै आएका दुई परिवारलाई लालपुर्जा प्रदान गरिएको थियो । वालिङ नगरपालिका–२ वडाको छतिउनडाँडाका बीना विक र रेशम विकको परिवारलाई भूकम्प प्राधिकरणको सहयोगमा लालपुर्जा प्रदान गरिएको थियो ।रासस

प्रकाशित मिति : 12:19