घुस खाएर चामलको बोरामा पैसा लुकाउँदै गर्दा उपसचिव अजितकुमार श्रीवास्तव रंगेहात पक्राउ
१२ असार, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवा दुई लाख रुपैयाँ घुससहित तीन कर्मचारीलाई आज पक्राउ गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महेन्द्रनगर, कञ्चनपुरका कार्यालय प्रमुख डिभिजन इञ्जिनीयर अजितकुमार श्रीवास्तव र इञ्जिनीयर ग्रीष्मा ठगुन्ना तथा बारा प्रसौनी गाउँपालिकाका योजना शाखाका खरिदार विनोद यादवलाई घुस लिँदालिँदै पक्राउ गरेको जानकारी दिनुभयो ।

आयोगले सूचनाका आधारमा कञ्चनपुरका प्रमुख डिभिजन इञ्जिनीयर श्रीवास्तव र अर्का इञ्जिनीयर ठगुन्नाले सेवाग्राहीबाट दुई लाख र प्रसौनीका योजना शाखा खरिदार यादवले रु १५ हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको उहाँले बताउनुभयो ।
कञ्चनपुरमा निर्माण सम्पन्न चौधर नदी नियन्त्रण योजनाको उपभोक्ता समितिको बिल फर–फारक गराइदिने भनी सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा दुवै इञ्जिनीयरलाई आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले पक्राउ गरिएको हो । प्रहरीका अनुसार श्रीवास्तवले घुस खाएर चामलको बोरामा लुकाउन खोज्दा टोलीले पक्राउ गरेको हो ।
यस्तै बारा प्रसौनीका खरिदार यादवले वडा नं ६ को नाला निर्माण कार्यबापतको बिलबमोजिमको रकम सेवाग्राहीलाई भुक्तानी गर्नका लागि प्रक्रिया अगाडि बढाउन विभिन्न बहाना गरी सेवाग्राहीसँग उहाँका सहयोगी आसपुरन कुश्वाहालाई घुस लिइरहेको अवस्थामा आयोगको हेटौँडा कार्यालयबाट गएको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : 22:36









