२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

कांग्रेसका नेता,कार्यकर्ताले डोजर लगाएर नयाँ सडक भत्काए

३ असार, काभ्रेपलान्चाेक । मण्डनदेउपुर नगरपालिका–७ स्थित डेडीथुम्का क्याम्पस हुँदै कश्यपेश्वर महादेव मन्दिर जाने सडक तथा पर्खाल निर्माणलगत्तै भत्काइएको छ । हेलम्बु राजमार्गमा सवारीको चाप बढ्दा कुन्ताबेँसीबाट वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने तथा मन्दिर जान समेतका लागि निर्माण गरिएको सडक नेपाली कांग्रेसका स्थानीय नेता,कार्यकर्ताले डोजर लगाएर भत्काएका हुन् ।

फाइल फाेटाे

नेपाली काङ्ग्रेस मण्डन देउपुर नगरका सभापति रामहरि सापकोटाले उक्त स्थानमा वैकल्पिक सडक हुन नसक्ने भएकाले आफूहरुले भत्काएको बताउनुभयो । उहाँले भन्नुभयो, “कुवा तथा किरियापुत्री जाने बाटो बिगारिदिएकाले हामीहरुले अवरोध गर्दै भत्काइदियौँ, बाटो र सिँढी बनाइदिन्छौँ भने, अहिलेसम्म बनाउने सुरसार छैन ।” उहाँले वडाध्यक्ष नारायण लम्सालकै उपस्थितिमा सडक भत्काइएको जिकिर गर्नुभयो ।

उक्त स्थानमा वैकल्पिकरूपमा प्रयोग गर्न सकिने उद्देश्यले मण्डन उपत्यका समाजिक उत्थान मञ्चद्वारा निर्माण शुरु गरिएको दुई किलोमिटर सडक निर्माणाधीन अवस्थामा थियो । नेता सापकोटाले काङ्ग्रेसका वडाध्यक्षका पराजित उम्मेदवार गङ्गालाल श्रेष्ठको सहयोगमा पार्टीका स्थानीय कार्यकर्ताको एक टोली बनाएर सडक भत्काइदिएको मञ्चका अध्यक्ष होमप्रसाद चौलागार्इंले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक निर्माणका क्रममा कुवा तथा किरियापुत्री जाने बाटो भत्किए पनि हामीले अझ व्यवस्थित ढङ्गले बाटो र सिँढी बनाइदिने भन्दाभन्दै उहाँहरुले डोजरसमेत लगाएर बनाइसकिएको स्थानको सडक तथा पर्खाल भत्काइदिनुभयो ।”

नगरका उपप्रमुख निर्मला शाहीले सडक निर्माणका क्रममा भत्किएको बाटो बनाइदिने योजना रहेको बताउँदा पनि दम्भका साथ मेसिन नै लगाएर निर्माण भएको सडक र पर्खाल भत्काउनु गलत भएको बताउनुभयो । “निर्माणका क्रममा केही संरचना बिग्रिए भनेपछि बनाउनैपर्छ, तर राजनीतिक ‘इगो’ साँधेर डोजरै लगाएर बाटो भत्काउनु दुर्भाग्यपूर्ण अवस्था हो”, उहाँले भन्नुभयो ।रासस

प्रकाशित मिति : June 18, 2019 at 10:40 am