२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

रसुवाकाे राम्चे र मूलखर्क सडक खण्डको सुधार गर्न बजेट पर्याप्त छः मन्त्री डा खतिवडा

३२ जेठ, रसुवा । अर्थमन्त्री डा युवराज खतिवडाले राम्चे र मूलखर्क खण्डको असहज राजमार्ग सुधारका लागि बजेट पर्याप्त रहेको बताउनुभएको छ । आज धुञ्चेमा आयोजित स्थानीय तहका पदाधिकारीसँगको भेटघाट तथा अन्तरक्रियामा अर्थमन्त्री खतिवडाले रसुवागढी अन्तर्राष्ट्रिय नाकाको रूपमा रहेको बेत्रावतीबाट मैलुङतर्फको नयाँ र धुञ्चे, स्याफ्रुवेशीतर्फको दुवै राजमार्ग सुधारका लागि बजेटको अभाव नहुने स्पष्ट गर्नुभयो ।

बेत्रावती मैलुङ र धुञ्चेतर्फका दुवै राजमार्ग सुधार, स्याफ्रुवेशी, बेत्रावती शुरूङ मार्ग तथा चीनबाट रेल ल्याउनेजस्ता विषय सरकारको उच्च प्राथमिकतामा रहेकाले कार्यान्वयनमा सहयोग गर्न स्थानीयबासीलाई उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा सहभागी जनप्रतिनिधिले धुञ्चे–गोसाइँकुण्ड केवुलकार निर्माणमा सहज वातावरण बनाई कार्यान्वयनमा लैजान, विकट स्थान रहेको आमाछोदिङ्मो गाउँपालिकालाई विकासको अनुदान बजेट थप गर्न, कालिका गाउँपालिकामा औद्योगिक ग्राम स्थापना, थुमनमा दृश्यावलोकन स्तम्भ निर्माण गर्न अर्थमन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले जिल्ला समन्वय समितिको भूमिका स्पष्ट नहुँदा कहाँ कसरी समन्वय गर्ने स्पस्ट परिदिन आग्रह गर्नुभएको थियो । कार्यक्रममा संविधानसभाका पूर्वसदस्य छोवाङ तेन्जीङ तामाङ, प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडा, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसमेतको सहभागिता रहेको थियो ।रासस

प्रकाशित मिति : June 15, 2019 at 8:11 pm