१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

काफल बेचेर घरखर्च जोहो गर्दै दाङका महिला

– दीपक बोहरा

३१ जेठ, दाङ । दाङका सदरमुकाम र राजमार्ग आसपास क्षेत्रमा गाउँका न्यून आयस्रोत भएका परिवारका महिलाले काफलबाट वर्ष दिनको खर्चको जोहो गर्न थालेका छन् । विपन्न परिवारका महिलाका लागि यस याममा पाक्ने काफल आम्दानीको राम्रो स्रोत बनेको छ । मौसम अनुसारका फलफूलको व्यापार गरेर आम्दानी गर्दै आएका महिलाले अहिले काफलबाट राम्रो आम्दानी गरिरहेका छन् । दाङका सदरमुकाम र राजमार्ग आसपास क्षेत्रमा मौसम अनुसारका फलफूल तथा जङ्गली फल काफल बेच्नेको ताति नै लाग्ने गरेको छ ।

दाङका विभिन्न बजारमा काफल बेचेर उनीहरुले दैनिक रु चार हजारसम्म आम्दानी गर्ने गरेका छन् । सल्यान कपुरकोटबाट ल्याएका काफल बेचेर मात्रै दैनिक रु चार हजारसम्म आम्दानी गर्ने गरेको तुलसीपुर बजारमा काफल बेच्दै आउनुभएकी धनसरी घर्तीले बताउनुभयो । “दिनमा रु चार हजारसम्म कमाइ हुन्छ”, उहाँले भन्नुभयो, “कहिलेकहीँ त त्योभन्दा बढी पनि हुन्छ ।”

दिनभरि काफल टिपेर भोलिपल्ट बिहानै तुलसीपुर बजारमा काफल बच्ने गरेको तुलसरा विकले बताउनुभयो । “बुढा कामको सिलसिलामा काभ्रे पलाञ्चोक बस्नुहुन्छ, यहाँ मैले काफल बेचेर घरखर्च चलाउँछु”, उहाँले भन्नुभयो, “बुढाको कमाई सबै बचत गरेको छु ।”

त्यस्तै बिहानै कपुरकोटबाट तुलसीपुरमा काफल बेच्न आउने गर्नुभएकी शिवा पुनले पनि काफल हुने मौसममा राम्रो आम्दानी गर्ने गरेको बताउनुभयो । एक महीनामा १५ दिन काफल टिप्न जाने र १५ दिन काफल बेच्ने गरेको उहाँको भनाइ छ । अहिले बजारमा एक मानोको रु ३० मा बेच्ने गरिएको उहाँले बताउनुभयो । “पोहोरसाल रु २५ मा बेच्ने गरेका थियौँ”, उहाँले भन्नुभयो, “अहिले रु ३० मा हामीले काफल बेच्ने गरेका छौँ ।”

त्यस्तै तुलसीपुरकी तारा नेपालीले पनि काफलबाटै घरपरिवार पाल्दै आउनुभएको छ । अरुले टिपेको काफललाई खरीद गरेर बेच्दै आउने गर्नुभएको छ । उहाँले आफैँ टिप्न नसक्ने भएकाले अरुले ल्याएको काफल खरीद गरेर बेच्ने गरेको बताउनुभयो । “आफँैले टिपेर ल्याएर अलि बढी आम्दानी त गर्न सकिन्छ, तर अरुले ल्याएको काफललाई खरीद गरेर बिक्री गर्दा पनि राम्रै हुन्छ”, उहाँले भन्नुभयो, “त्यसो गर्दा पनि दैनिक रु ५०० सम्म आम्दानी हुने गरेको छ ।”

यो समयमा यहाँका महिलाले काफल बेचेरै आफ्नो दैनिकी चलाउने गरेका छन् । अहिले दाङका बजारमा काफल बेच्ने महिला धेरै छन् । तुलसीपुर बजारमा कपुरकोटबाट, घोराहीलगायत आसपासका बजारमा रोल्पाबाट तथा लमही, भालुबाङ बजारमा प्यूठानबाट काफल आउने गरेको छ । गर्मी समयमा बजारमा काफलको माग अत्यधिक हुने गरेको छ । अन्य समयमा अरु नै पेशा गर्ने गरेको भए पनि महिलाले काफल पाक्ने मौसममा भने काफलकै व्यवसाय गर्ने गरेको बताउँछन् । रासस

प्रकाशित मिति : June 14, 2019 at 2:59 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/