सार्वजनिक सवारीको भाडावृद्धि एक दिन पनि टिकेन, सरकारलाई एक्लै सक्ने भए मन्त्री महासेठले !
३० जेठ, काठमाडौँ । सार्वजनिक सवारीको भाडावृद्धिमा सरकार केही घण्टामा पछारिएको छ । पछिल्लो समय व्यापारिक स्वार्थमा अनेक निर्णय गरेर विवादित बन्दै आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको सहमतिमा भएको सर्वजनिक सवारीको भाडावृद्धिको निर्णय एक दिन पनि टिक्न सकेन । व्यापारिक स्वार्थमा विवादित बन्दै आएका महासेठको सहमतिमा यातायात व्यवस्था विभागले बिहीबार सार्वजनिक सवारीमा १२ प्रतिशत भाडावृद्धिको निर्णय गरेको थियो ।

बिहीबार दिउँसो विभागले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको थियो । यात्रु बोक्ने र मालसामान बोक्ने दुबैथरी यातायातका साधनको भाडा बढेको थियो तर उक्त निर्णय केही घण्टामै स्थगित भएको छ । विभागले अर्को एउटा विज्ञप्ति निकाल्दै तत्कालका लागि भाडा वृद्धि स्थगित भएको र प्राविधिक अध्ययन गर्न बाँकी भएको बताएको छ ।
महासेठका यस्तै खाले हचुवाको निर्णयको जनस्तरबाट सबैभन्दा चर्को स्वरमा बिरोध भैरहेको छ । विगतमा उनले विपी राजमार्गका नाममा लिएको निर्णय, टुटल र पठाओमाथि लगाएको प्रतिबन्धको निर्णय र हेलमेटवाल निर्णयले जनस्तरमा सरकारको सबैभन्दा बढी आलोचना भएको छ ।

प्रकाशित मिति : 22:20









