२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

प्रेसलाई अङ्कुश लगाउनु हुँदैन : नेता रावल

२८ जेठ, बैतडी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम इञ्चार्ज भीम रावलले प्रेसलाई अङ्कुश लगाउन नहुनेमा जोड दिनुभएको छ । सोमबार बैतडीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रेसलाई स्वतन्त्ररूपमा काम गर्न दिनुपर्ने बताउनुभएको हो । प्रेसलाई अङ्कुश लगाउने कुरा कल्पना पनि गर्न नसकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रेस राष्ट्रको चौथो अङ्ग हो, स्वतन्त्र प्रेसको वकालत गरेको छु ।” सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकलाई लक्षित गर्दै उहाँले थप्नुभयो, “पत्रकारले स्वयं जिम्मेवार बन्नुपर्छ, पे्रसको अधिकार र स्वतन्त्रता कुण्ठित गर्नुहँुदैन ।”

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता रावलले बजेटमा सुदूरपश्चिम प्रदेश सधैँ ठगिने गरेको जिकिर गर्नुभयो । “सरकारले सुदूरपश्चिम प्रदेशलाई दिने बजेट गत वर्षभन्दा घटेर आएको छ”, उहाँले भन्नुभयो, “समाजवादको बाटोमा जान बजेट बढाउनु पर्छ । सुदूरपश्चिम प्रदेश कृषि तथा पर्यटनमा धनी प्रदेश भए पनि सरकारले सुदूरपश्चिम प्रदेशलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “पश्चिमसेतीलाई पनि अघि बढाउने हो भने सुदूरपश्चिमको मात्रै नभएर समग्र मुलुक बन्छ ।”

निर्वाचनका बेला गरेका प्रतिबद्धतालाई बिर्सन नहुने भन्दै उहाँले पछिल्लो समय सरकार र जनताबीच रिक्तता बढेको बताउनुभयो । पार्टीले गलत ग¥यो भने खबरदारी गर्नुपर्छ भन्दै उहाँले पार्टी एकीकरणको लामो समय भइसक्दासमेत जिल्ला तथा स्थानीय तहमा एकीकरण नहुनुले पार्टीले ठूलो क्षति बेहोर्नुपरेको धारणा व्यक्त गर्नुभयो । उहाँले सिके राउतले अझै पृथकतावादी समूह नत्यागेकाले तत्कालै विश्वास गर्न नहुनेमा पनि जोड दिनुभयो ।रासस

प्रकाशित मिति : June 11, 2019 at 9:54 am