सानिमा बैंकको नाफा १३१ प्रतिशतले बढ्यो, निष्क्रिय कर्जामा सुधार
१२ कात्तिक, काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंककाे खुद नाफा १३१.१३ प्रतिशतले बढेर १ अर्ब ५ करोड १४ लाख ६८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासमा बैंकले ४५ करोड ४९ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंककाे नाफासँगै प्रतिसेयर आम्दानी, स्वपुँजीमा प्रतिफल र वितरणयोग्य नाफामा पनि सुधार देखिएको छ । खराब कर्जा अनुपात घट्नुका साथै निक्षेप संकलन र कर्जा प्रवाहमा समेत वृद्धि भएको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २९ रुपैयाँ १७ पैसा पुगेको छ । गत वर्षको सोही अवधिमा प्रतिसेयर आम्दानी १३ रुपैयाँ १५ पैसा थियो । यस आधारमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ २ पैसाले बढेको छ । १५ अर्ब ५८ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी (अग्राधिकार सेयरसहित) रहेको बैंकको जगेडा कोष ९ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ५४ पैसा र मूल्य आम्दानी अनुपात १३.४७ गुणा रहेको छ ।
त्यस्तै, बैंकको स्वपुँजीमा प्रतिफल (आरओई) पनि उल्लेख्य रूपमा सुधार भएको छ । गत वर्षको सोही अवधिमा ७.६८ प्रतिशत रहेको आरओई बढेर १५.६० प्रतिशत पुगेको छ । गत वर्षको पहिलो त्रैमासमा ३.९१ प्रतिशत रहेको निष्कृय कर्जा चालु आवको सोही अवधिमा घटेर २.८६ प्रतिशतमा झरेको छ । त्यस्तै खुद निष्कृय कर्जा पनि १.५८ प्रतिशतबाट सुधारिएर १.०८ प्रतिशतमा आइपुगेको छ । कुल खराब कर्जाको सुरक्षण क्षमता (प्रोभिजन कभरेज) १०५.४६ प्रतिशतबाट बढेर १३६.७१ प्रतिशत पुगेका छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९९ करोड ४४ लाख रुपैयाँ रहेको छ ।
बैंककाे खुद ब्याज आम्दानीसँगै फि तथा कमिसन आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको पहिलो तीन महिनामा १ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ९.४२ प्रतिशतले बढाएर १ अर्ब ८४ करोड ७६ लाख रुपैयाँ पुर्याएको छ ।
प्रकाशित मिति : October 29, 2026 at 10:27 am










