विरोध गर्नेले सडकमा सुतेर यातायात अवरुद्ध गरेकाले प्रहरी बल प्रयोग गर्न बाध्य भयाेः गृहमन्त्री थापा
२७ जेठ, काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापाले आइतबार माइतीघर मण्डलामा गुठी विधेयकको विरोधमा प्रदर्शन गर्नेले सडकमा सुतेर सार्वजनिक यातायात अवरुद्ध गरेकाले प्रहरीले बल प्रयोग गर्न बाध्य हुनुपरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिनुहुँदै उहाँले पानी प्रयोग गरेर नियन्त्रण गर्न खोज्दा पनि भीड सडकमै रहेकाले सामान्य बल प्रयोग गरी चार जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएरपछि छोडिएको बताउनुभयो ।

नागरिकको जीउ धनको सुरक्षा गर्नु सरकारको दायित्व हो, कानून विपरीत बल प्रयोग भए नभएको छानबिनबाट अवगत हुनेछ, प्रदर्शनकारी र प्रहरी घाइते भएकामा दुःख व्यक्त गर्न चाहन्छु”, गृहमन्त्री थापाले भन्नुभयो । उहाँको जवाफपछि प्रश्न गर्नुहुँदै सांसद बद्रीप्रसाद पाण्डे, प्रकाश पन्थ र रमेशप्रसाद यादवले गृहमन्त्रीको जवाफ तयारी जस्तो देखिएको र छानबिन समिति गठन गरिएको छ छैन स्पष्ट पार्न आग्रह गर्नुभयो ।
सरकारको संयमता नदेखिएको उल्लेख गर्नुहुँदै उहाँहरुले दमन गर्ने हो भने राजतन्त्र र गणतन्त्रमा के फरक छ भनी जिज्ञासा राख्नुभएको थियो । सांसदका प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री थापाले दोषी देखिने प्रहरी र प्रदर्शनकारी दुवैलाई कानूनी कारवाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाउनुभयो । सडक अवरुद्ध गर्नु लोकतान्त्रिक अधिकार नभएको र प्रहरीमाथि ढुङ्गा हान्नु शान्तिपूर्ण नहुने उहाँले बताउनुभयो । शान्तिपूर्ण विरोध प्रदर्शनलाई दमन, हस्तक्षेप नगरी संरक्षण नै गर्ने गरिएको गृहमन्त्री थापाले सुनाउनुभयो ।रासस
प्रकाशित मिति : 21:00









