हाजिर नै नभएका शिक्षकको तलब कीर्ते हस्ताक्षर गरेर विद्यालयको खातामा
२६ जेठ, गोरखा । विद्यालयमा एक दिन पनि हाजिर नै नभएका शिक्षकको कीर्ते हस्ताक्षर गरी धार्चे गाउँपालिका–७ लापुको प्रभातकिरण माविले मासिक तलव वापतको रकम लिएको खुलेको छ । शिक्षक बिसुदेव रेग्मीको कीर्ते हस्ताक्षर गर्दै मासिक २९ हजार रुपैयाँका दरले ७ महिनाको तलब विद्यालयले लिएको हो ।
विद्यालयले गत असोज ३ गते माध्यमिक तहमा अंग्रेजी र नेपाली बिषयको दरवन्दीमा शिक्षक पदपूर्तिका लागि परीक्षा लिएको थियो । परीक्षामा अंग्रेजी विषयमा विसुदेव रेग्मी छनोट भए पनि दुर्गम क्षेत्रको उक्त विद्यालयमा रेग्मी पढाउनै गएनन् । उनै रेग्मीको कीर्ते हस्ताक्षर गर्दै गत असोजदेखि चैत्र महिनासम्मको तलब असोज ८ गतेदेखि नै शिक्षकको हाजिरी फाइलमा रेग्मीको कीर्ते हस्ताक्षर गरेर लिएकाे स्रोतको भनाइ छ ।
विद्यालयका प्रधानाध्यापक जीतबहादुर गुरुङले उक्त रकम विद्यालयको खातामा रहेको दावी गरे । उनले शिक्षकको कीर्ते हस्ताक्षर भने नगरेको दावी गरे । ‘पैसा खातामै छ, केही दिन अघि व्यवस्थापन समितिको बैठकले निर्णय गरेर बनिरहेको भवनका लागि दुई लाख रुपैयाँ खर्च गर्यौं,’ उनले भने ।
२०७५ असोजदेखि चैतसम्मको तलब कीर्ते हस्ताक्षर गरेर लिएपछि विद्यालयले रेग्मीले स्वेच्छिक राजीनामा दिएको भन्दै २०७६ साल जेठ १ गते नयाँ शिक्षक नियुक्तिको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
प्रकाशित मिति : २६ जेष्ठ २०७६, आईतवार १९:१२