४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

संसदीय समितिको बैठकमा अनुपस्थित भएपछि मन्त्री लालबाबु पण्डितको चर्को आलोचना

२४ जेठ, काठमाडौँ । संसदीय समितिको बैठकमा अनुपस्थित भएपछि प्रतिनिधिसभाका सांसदहरुले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको चर्को आलोचना गरेका छन् । स्थानीय तहको कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन सम्बन्धमा छलफल गर्न शुक्रबार बोलाइएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएपछि सांसदहरुले मन्त्री पण्डितको चर्को आलोचना गरेका हुन् ।

बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् सांसद दिलेन्द्रप्रसाद बडुले स्थानीय तहमा कर्मचारी नियुक्ती गर्ने विषयमा पनि मन्त्री पण्डित जिम्मेवार नभएको उल्लेख गर्दै आपत्ति जनाए ।

सत्तारुढ नेकपाका सांसद जनार्दन शर्माले पनि संविधानमाथि प्रहार हुने गरी खुलाइएको सो विज्ञापन तत्काल खारेज गर्न सरकारसँग माग गरे । पूर्वगृहमन्त्री समेत रहेका शर्माले संविधानमाथि प्रहार हुने कुनै पनि गतिविधिले मुलुक संकटमा फस्ने भन्दै त्यस्ता गतिविधि रोक्नका लागि सरकारलाई निर्देशन पनि समितिकी सभापति शशी श्रेष्ठको गम्भिर ध्यानाकर्षण गराए ।

सरकारले लोक सेवा आयोगमार्फत स्थानीय तहको पनि कर्मचारी पदपूर्तिका लागि ९ हजारभन्दा बढिको विज्ञापन खुलाएपछि त्यो संविधानको मर्म विपरित हुनेगरी आएको भन्दै आलोचना भईरहेको छ ।

प्रकाशित मिति : 13:37