अनुमति नलिई सञ्चालनमा रहेका ३ कन्सल्टेन्सीमा शिलबन्दी
२३ जेठ, वीरगञ्ज । शिक्षा मन्त्रालयबाट अनुमति नलिई सञ्चालनमा रहेका वीरगञ्जका ३ वटा कन्सल्टेन्सीमा प्रशासन कार्यालयले शिलबन्दी गरेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय नजिकै रहेको प्रगति एजुकेशन, लिंक रोड स्थित निम्स इन्स्टिच्यूट र पानीट्याङ्की चोकको गुडविल लोक सेवा इन्स्टिच्युटमा शिलबन्दी गरेको छ ।
शिक्षा मन्त्रालयबाट अनुमति नलिई शैक्षिक संस्थाहरु सञ्चालन भई विद्यार्थीहरुलाई ठगी गरेको सूचना आएपछि कारबाही शुरु गरिएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए । ‘कम्पनी रजिष्टारको कार्यालमा दर्ता गरेर प्यान नं त लिएका रहेछन् । तर शैक्षिक संस्था सञ्चालनका लागि शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयबाट अनुमति लिनुपर्ने हुन्छ’ उनले भने ।
अनुमति बिना सञ्चालनमा रहेका कन्सल्टेन्सी, कोचिङ सेन्टरहरूमा स्थानीय प्रशासनले शिलबन्दी गर्न शुरू गरेपछि त्यस्ता संस्थाका सञ्चालक भागेका छन् । आकर्षक प्रलोभनमा पारेर महंगो शुल्क लिएर लोक सेवा आयोग, शिक्षक सेवा आयोग, प्रहरी, सेना, वैदेशिक अध्ययनमा पठाउने भन्दै कतिपय कन्सल्टेन्सी र कोचिङ सेन्टरहरुले ठगी गर्दै आएका छन् ।
प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहीबार १९:५१