४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

तनहुँको भिमाद नगरपालिकामा वडाबाटै अपाङ्गता परिचयपत्र वितरण

२३ जेठ, तनहुँ । तनहुँको भिमाद नगरपालिकाले पहिलोपटक वडाबाटै अपाङ्गता परिचयपत्र वितरण शुरु गरेको छ । अपाङ्गता परिचयत्र वितरणको जिम्मेवारी स्थानीय तहमा आएपछि नगरपालिकाले पहिलोपटक परिचयपत्र वितरण शुरु गरेको हो । यसअघि महिला तथा बालबालिका कार्यालयले वितरण गर्दै आएको परिचयपत्र नगरपालिकाले कार्यविधि बनाएर वितरण शुरु गरेको नगरपालिकाका उपप्रमुख शारदा खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परिचयपत्रका आधारमा अपाङ्गता भएका व्यक्तिले सेवा सुविधा पाउनुहुन्छ, परिचयपत्र हेरेर नगरपालिकाले दिने सेवा सुविधा दिन्छौँ ।

 

नगरपालिकाले वडा नं ४ बाट अपाङ्गता परिचयपत्र वितरण शुरु गरेको छ । वडाका ५३ जनामध्ये १३ जनाले ‘क’ वर्ग, १६ जनाले ‘ख’ वर्ग, १० जनाले ‘ग’ वर्ग र १४ जनाले ‘घ’ वर्गको परिचयपत्र प्राप्त गरेका छन् । वडाबाटै परिचयपत्र पाउन थालेपछि अपाङ्गता भएका व्यक्तिले सहज भएको भन्दै खुशी व्यक्त गर्नुभएको छ । वडाबाटै परिचयपत्र वितरणले आफूहरुलाई सहज भएको अपाङ्गता भएका रमेश थापाले बताउनुभयो ।

नगरपालिकामा पुगेर परिचयपत्र लिन अप्ठ्यारो हुने भएकाले वडाबाटै परिचयपत्र पाउँदा खुशी लागेको अर्का अपाङ्गता भएका युवराज आलेले बताउनुभयो । अपाङ्गताका कारण बसको यात्रा हुँदै नगरपालिकासम्म पुग्न असहज हुने भएकाले वडाबाटै परिचयपत्र पाउँदा खुशी लागेको अपाङ्गता भएका हिराबहादुर दमैले बताउनुभयो । नगरपालिकाले जेठ २४ गते वडा नं ३, २५ मा वडा नं १, २७ गते वडा नं ६, २८ गते वडा नं २, २९ गते वडा नं ७, ३१ गते वडा नं ८, असार १ गते वडा नं ५ र २ गते वडा नं ९ बाट अपाङ्गता परिचयपत्र वितरण गर्ने जनाएको छ ।रासस

प्रकाशित मिति : 12:48