९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

नेकपा सचिवालय बैठक सकियाे, केन्द्रीय सदस्यहरुको कार्यविभाजन भोली हुने

२१ जेठ, काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको मंगलबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन भोलीसम्म सक्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजन भोलीसम्म सक्नेबारे छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

‘केन्द्रीय सदस्यहरुको कार्यविभाजनको प्रस्ताव तयार भइसकेको छ’, श्रेष्ठले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘भोली १२ बजे फेरि बसेर टुंगो लगाउने तयारी भएको छ।

एकतापछि नेकपामा ४४१ केन्द्रीय सदस्य छन् । नेकपाको सचिवालय बैठक यही जेठ २ गतेपछि यता बस्न सकेको थिएन । यही जेठ ३ गते पार्टी एकीकरण भएको एक वर्ष पुगेको अवसरमा १९ वटा जनवर्गीय सङ्गठनको नाम, संयोजक र सहसंयोजक तोकेको थियो । प्रधानमन्त्री आलोपालो प्रणालीका आधारमा हुने भनी बाहिर चर्चामा आएको प्रसङ्सबारे पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता श्रेष्ठले त्यस सम्बन्धमा बैठकमा कुनै ठोस निर्णय नभएको बताए ।

पार्टीका नेता झलनाथ खनालले पार्टीमा कार्यविभाजनबारे विवाद नभई छलफल नटुङ्गिएर ठोस निर्णयमा पुग्न नसकिएको बताए । पार्टी एकतापछि पोलिटब्यूरो गठनसमेत हुन सकेको छैन ।

 

प्रकाशित मिति : 18:00