एकदिन विप्लव पनि नेकपामा आउनुपर्छः अध्यक्ष प्रचण्ड
१९ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकदिन विप्लव पनि नेकपामा आउनुपर्ने बताएका छन् । आइतबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा विप्लवका पोलिटब्यूरो सदस्य पदम राईलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले विप्लवले लिएको बाटो गन्तव्यमा पुग्ने बाटो नभएको बताउँदैै भने, ‘अहिले जो बाटो हिँडिएको छ त्यो गन्तव्यमा पुग्ने बाटो होइन । त्यसले राष्ट्र र जनतालाई क्षति मात्रै हुन्छ ।’ अहिलेको परिस्थिति नितान्त भिन्न परिस्थिति रहेको भन्दै प्रचण्डले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने जिम्मेवारी सबैको भन्दै उनले समाजवादको आधार तयार गर्ने कुरामा नेकपाले जोड दिएको बताए ।

‘ज–जसले कम्युनिष्ट समूह चलाइरहनुभएको छ । आउनुस छलफल गरौँ । सम्वाद गरौँ, इतिहासको वर्तमानको, राष्ट्रिय अन्तर्रािष्ट्रय परिस्थिति पनि समिक्षा गरौँ’ प्रचण्डले आग्रह गरे । उनले सवै कम्युनिष्ट समूहहरु एकै ठाउँमा आएर समाजवादी आन्दोलनको नयाँ मोडलमार्फत जनताको सेवा गर्न सकिने बताए । कार्यक्रमा पाटी प्रवेश गरेका राइले देशलाई समृद्ध बनाउने अभियानमा नेकपा रहेकाले आफू प्रवेश गरेको बताए ।

प्रकाशित मिति : 12:11









