धर्मशाला निर्माणको रकम भुक्तानीमा घुस खाने राजपाका नेता रंगेहात पक्राउ
१७ जेठ, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाँउपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गराउन सहज गराई दिने भन्दै घुस लिएको आरोपमा वडा अध्यक्षलाई पक्राउ गरेको छ । एकडारा गाउँपालिका–४, महोत्तरीका निर्वाचित वडा अध्यक्ष रामचन्द्र रायले गाउँपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गराउन सहज गराई दिन भनी सेवाग्राहीसँग रु ३६ हजार घुस माग्दै गरेको अवस्थामा आयोगले आज पक्राउ गरेको दाबी गरेको छ ।

आयोगको कार्यालय बर्दिवासबाट गएको टोलीले रायलाई जलेश्वर नगरपालिका–१ शैलेशचोकबाट पक्राउ गरेको हो । आरोपी रायको थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । यस्तै आयोगले चौफा सब–डिभिजन वन कार्यालय, चौरजहारी, रूकुम (पश्चिम) मा कार्यरत फरेस्टर महेन्द्र बिसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनलाई कुकाठ कटान आदेशको काममा सहजीकरण गरिदिने भन्दै फरेस्टर बिसीले सेवाग्राहीसँग रु सात हजार घुस लिएको अभियोग लागेको छ ।
प्रकाशित मिति : 23:28









