नौ जनाको हत्या हुँदा भागेर बाँचेकी बालिकाको शिक्षा र पालनको जिम्मा प्रदेश सरकारले लियो
१७ जेठ, दमक । दुई साताअघि पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा नौ जनाको हत्या हुँदा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको शिक्षा तथा पालनपोषणका लागि एक नम्बर प्रदेश सरकारले जिम्मा लिएको छ । दमकको लाइफलाइन अस्पतालमा उपचाररत बालिकाको शिक्षा तथा पालनपोषण गर्नका लागि आज गाउँपालिकाका अध्यक्ष अमर माखिमको उपस्थितिमा बालिकालाई प्रदेश सरकारले जिम्मा लिएको हो ।
परिवारको स्वीकृतिमा बालिकालाई प्रदेश सरकारका प्रतिनिधिलाई जम्मा दिइएको गाउँपालिका अध्यक्ष माखिमले बताउनुभयो । बालिका बुझन प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोका स्वकीय–सचिव सुजन मङ्ग्राती, इटहरीस्थित शहिद स्मृति आवासीय विद्यालयका प्रधानाध्यापक शिवचन्द्र राईसहितको टोली अस्पताल आएको थियो ।

प्रहरीको निगरानीमा उपचाररत बालिकालाई कानूनी प्रक्रिया पूरा गरेर गाउँपालिकाका अध्यक्ष माखिमलाई बुझाइएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताउनुभयो । कक्षा ९ मा अध्ययनरत बालिकाको पठनपाठनलाई निरन्तरता दिन इटहरीस्थित शहिद स्मृति आवासीय विद्यालयमा भर्ना गरिने बताइएको छ । गत जेठ ६ गते भएको सामूहिक हत्याका घटनामा भागेर ज्यान जोगाएकी बालिकालाई घटनाको भोलिपल्ट उपचारका लागि दमक ल्याइएको थियो । दमक ल्याइएपछि बालिका खजुमको लाइफलाइन अस्पतालमा उपचार भइरहेको थियो । रासस
प्रकाशित मिति : 23:19









