विप्लवको बन्दको प्रभावः ठाउँठाउँमा सवारीमा आगजनी, राजमार्गमा बमैबम, निष्क्रिय पार्दै सेना
१३ जेठ, काठमाडाैँ । उपत्यकासहित देशभरका सडकमा सोमबार सार्वजनिक गाडी कम चलेका छन् । लामो तथा छोटो दुरीका गाडी कम मात्रै चल्दा गन्तव्यमा पुग्नुपर्नेहरु समस्यामा परेका छन् । नेत्रविक्रम चन्द विप्लव समूहले आह्रवान गरेको बन्दका कारण काठमाण्डौभित्र चल्ने छोटो दुरीका सार्वजनिक गाडी कम मात्रै चलेका हुन् भने लामो दुरीका गाडी पनि हिजोअस्ति जस्तो नचलेको प्रहरीले जनाएको छ । सबैजसो स्कुल कलेज बन्द भएका छन । बन्दका क्रममा बन्दकर्ताले ठाउँठाउँमा सवारीसाधनमा अागजनी गरेका छन । राजमार्गको विभिन्न खण्डमा बम राखेका छन ।

नेत्र विक्रम चन्द विप्लप नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा सोमबार बिहान हेटौंडाको चौकिटोलमा एउटा मिनीट्रकमा आगजनी भएको छ । त्रिभुवन राजपथ अन्तरगत हेटौंडाको चौकिटोलमा प्रहरी चौकि नजीकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले जानकारी दिए । आगजनीबाट गाडीका अगाडीको भाग जलेको छ ।

सोमबार बिहानै १ बजेको समयमा हेटौंडाको बुद्धचोक नजिक प्रेसरकुकर बम भेटिएको छ । बम राखेको थाहा पाउने बित्तीकै प्रहरीले नेपाली सेनालाई खबर गरेर बिहान ५ बजेतिर बम डिस्पोज गरिएको प्रहरीले जनाएको छ । सेनाको टोलीले प्रेशसरकुकर बम डिस्पोज गर्दा ठुलो आवाज आउदा स्थानीय वासिन्दाहरु तर्सिएका थिए ।
मदन भण्डारी राजमार्गमा शंकास्पद बस्तु
सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ८ मा शंकास्पद वस्तु फेला परेको छ । निमार्णधिन मदन भण्डारी राजमार्गबीच शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । सडकमा ‘नेपाल बन्द छ, खतरा’ लेखेर सकेट बम जस्तो शंकास्पद वस्तु राखिएको जिल्ला प्रहरी प्रवक्ता लोकदर्शन थापाले जानकारी दिए ।

पृथ्वी राजमार्गमा राखिएको बम निष्क्रिय
धादिङ जिल्लास्थित थाक्रे गाविसमा पर्ने पृथ्वी राजमार्गमा राखिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । महादेबबेसीको आग्रा खोलाको पुल मुनि राखिएको बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको हो ।
भक्तपुरमा पनि बम
भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक सोमबार बिहान फेला परेको शंकास्पद वस्तुलाई सुरक्षाकर्मीको टोलीले निष्कृय पारेको छ । सोमबार बिहान पौने करिब तीन बजेतिर प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा शंकास्पद बस्तु फेला पारेको थियो । त्यसपछि नेपाली सेनाको बम डिस्पोजल टोली बोलाएर निष्क्रिय बनाइएको प्रहरीले जनाएको छ ।
ट्रक चालकमाथि प्रट्रोल बम प्रहार
नेकपा विप्लवका कार्यकर्ताले नवलपुरमा एक ट्रक चालकमाथि अाक्रमण गरेका छन । नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको हो । प्रहरीका अनुसार पेट्रोल बमबाट ट्रकका चालक घाइते भएका छन् । प्रहरीले उनको पहिचान खुलाएको छैन ।
मोरङमा प्रेसर कुकर बम
प्रदेश नम्बर १ काे राजधानी रहेको मोरङ जिल्लामा प्रेसर कुकर बम फेला परेको छ । मोरङको सुन्दरहरैंचा ७ ठडिया चोक नजिक प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिले उक्त बम नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले डिस्पोज गरेको छ ।

पोखरा, राैतहट र कपिलवस्तुमा पनि बम
यस्तै रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा पनि प्रेसरकुकर बम फेला परेको छ । प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ । बम डिस्पोजका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ जाँदैछ । यस्तै कपिलवस्तुको वाणगंगाका दुई स्थानमा र पोखराको पृथ्वी चोकमा पनि शंकास्पद बस्तु फेला परेको छ । त्यहाँ अहिले नेपाली सेनाको टोली पुगेको छ ।

सशस्त्र प्रहरी बल स्रोतका अनुसार पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका घर भएका आशिष भनिने डम्बरबहादुर तामाङ, सल्यान बाघ भैरब घर भएका भक्तपुरको विद्यार्थी जिल्ला अध्यक्ष चित्र कमल ओली, भक्तपुर ठिमीका नेवा मोर्चाका केन्द्रीय सदस्य राकेश श्रेष्ठ, ओखलढुंगा चण्डेश्वरीका बुद्धिबहादुर सुनुवार, त्रिवेणी ५ रोल्पा घर भएका भक्तपुर जिल्ला सेक्रेटरी बुद्धिलाल पुन, मेचीनगर ३ झापा घर भएका तेजराज काफ्ले, रामेछाप खाँडदेवी २ घर भएका तेजबहादुर मोक्तान रहेका छन ।


प्रकाशित मिति : 07:31









