नक्कली कागजात बनाई सहकारी ठग्ने दिलिप चौधरी पक्राउ
१० जेठ, काठमाडौँ । नक्कली कागजात बनाई ८ वर्षदेखि सहकारी संस्था ठगी गर्ने एक जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुनसरीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भई हाल काठमाडौँ महानगरपालिका –१६ स्थित नयाँबजार बस्ने दिलिप कुमार चौधरी रहेका छन ।
वनस्थलीमा रहेको आधुनिक बहुउदेश्यीय सहकारीका सचिव ईन्द्र प्रसाद अर्यालको जाहेरीपछि चौधरीलाई विसं २०६९ कात्तिक २७ गते काठमाडौँ जिल्ला अदालतले १ वर्ष कैद र २० लाख ९५ हजार २६५ जरीवाना सुनाएको थियो । चौधरी त्यस लगत्तै फरार भएका थिए ।

२०६६ सालदेखि सो सहकारी संस्थामा लेखा प्रमुखको रुपमा कार्यरत चौधरीले २०६७/६८ मा पटक–पटक गरी संस्थामा जम्मा हुन आएको रकम बैंकमा जम्मा गरेको छु भनी नक्कली स्टेटमेन्टलगायतका कागजातहरु बनाई रकम बैंकमा जम्मा नगरी ठगी गरेको खुल्न आएको प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका चौधरीलाई सुनसरी जिल्ला अदालतमा पेश गरी आज नै झुम्का कारागार पठाईएको प्रहरीले बताएकाे छ ।
प्रकाशित मिति : 17:48









