३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

डोजरले खनेको खाल्टाेमा डुबेर ७ वर्षीय बालककाे मृत्यु

१० जेठ, सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिका–७ बाह्रबिसेमा डुबेर सात वर्षीय बालक मनिष श्रेष्ठको मृत्यु भएको छ । मरिणखोलामा पौडी खेल्ने क्रममा खोलामा खनेको खाल्डोमा परी श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय कपिलाकोटले जनाएको छ । मरिणखोलामा कालिका कन्स्ट्रक्सनले नियमविपरीत खाल्डो खनी कच्चा पदार्थ उत्खनन गरी खाल्डा नपुर्दा बिहीबार बालकको ज्यान गएको इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिनुभयो ।

कालिका कन्स्ट्रक्सनका छत्रेबहादुर अर्यालले कन्स्ट्रक्सनको डोजरले मरिणखोलामा खनेका जोखिमयुक्त खाडल तत्काल पुर्ने प्रतिबद्धता जनाए पनि त्यसअनुरुप नगरेको उहाँको भनाइ छ । गत चैतमा गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन, कालिका कन्स्ट्रक्सनका छत्रेबहादुर अर्याल, वन डिभिजन कार्यालय मरिणका वन अधिकृत दियालाल यादव, इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरीक्षक चरित्रविक्रम कार्कीको बैठकबाट चैत मसान्तसम्म मरिणखोलामा कन्स्स्ट्रक्सनले खनेका खाल्डा पुर्ने प्रतिबद्धता जनाए पनि हालसम्म नपुरेको पाइएको छ ।

यस्तै कन्स्ट्रक्सनले चैत मसान्तसम्म गाउँपालिका, वन डिभिजन, इलाका प्रहरी कार्यालयमा ‘इआईइए’ प्रतिवेदन उपलब्ध गराउने भनेको तर हालसम्म नबुझाएको बताइएको छ । इलाका प्रहरी कार्यालयले नियमविपरीत डोजरले मरिणखोलामा खाडल खन्दा जोखिम भएको भन्दै रोके पनि अटेर गर्दा यसअघि पनि हरिहरपुरगढी गाउँपालिका निवासी एक वृद्धको खाडलमा डुबेर मृत्यु भएको जनाएको छ ।रासस

प्रकाशित मिति : 11:13