१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

नुवाकाेटकाे तारकेश्वरमा विद्यार्थी ट्यालेन्ट पार्ने भन्दै एलकेजीको किताब १ मा पढाई हुँदै

९ जेठ, नुवाकोट । बालबालिकालाई ट्यालेन्ट बनाउने नाममा नुवाकोटको एक गाउँपालिकाले हचुवाको भरमा पाठ्यपुस्तक लागू गरेको पाइएको छ । स्थानीय तहलाई छुट्टै ऐन बनाएर स्थानीय पाठ्यक्रमसमेत लागू गर्ने कानुनी आधार भएपनि तारकेश्वर गाउँपालिकाले भने विद्यार्थीलाई ट्यालेन्ट बनाउने नाममा तल्लो कक्षाको पुस्तक पढाउन लागेको भेटिएको छ ।

गाउँपालिकाको शिक्षा समितिले शैक्षिक गुणस्तरमा सुधार गर्ने भन्दै सरकारी विद्यालयको कक्षा १ मा निजी विद्यालयको एलकेजीमा पढाई हुने पाठ्यसामग्री र पाठ्यपुस्तक प्रयोग गरेको पाइएको छ । गाउँपालिकाले अहिले बालविकास र कक्षा १ को लागि भनेर गाउँपालिकाभरि पुस्तक सप्लायर्समार्फत पुस्तक वितरणको काम तीब्र पारेको छ ।

शिक्षाको तहगत, कक्षागत र विषयगत उद्देश्यलाई ख्याल गरेर पाठ्यक्रम निर्धारण गरिनुपर्ने हुन्छ । सोहीअनुरुप राज्यले नै पाठ्यपुस्तक निर्धारण गरेको हुन्छ र नेपाली वा अंग्रेजी जुन माध्यममा भएपनि सरकारले तोकेको पाठ्यक्रम नै पढाउनुपर्ने हुन्छ । तर राज्यले कक्षा १ का लागि निर्धारण गरेर पाठ्यपुस्तक हटाएर अङ्ग्रेजी माध्यममा पढाउने नाममा पालिकाले भने एलकेजीको पाठ्यपुस्तक प्रयोग गर्न थालेको छ ।

यसविषयमा बुझ्दा गाउँपालिका अध्यक्ष रमेश वस्तीले विद्यार्थीलाई प्रतिष्पर्धा गर्न लायक बनाउनका लागि अङ्ग्रेजी माध्यमको पढाई सुरु गरिएको उल्लेख गरे । सन्दर्भ सामग्रीको रुपमा तल्लो कक्षाको पुस्तक प्रयोग गरिएको हुनसक्ने भएपनि कक्षा १ मा एलकेजीको पुस्तक प्रयोग भएकोबारे अनभिज्ञता जनाए ।

यस्तै, तारकेश्वर गाउँपालिकाका शिक्षा समितिका संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष चूडामणि गजुरेलले भने परीक्षणका रुपमा बालविकास र कक्षा १ का लागि निजी विद्यालयमा अध्यापन गराइने पाठ्यपुस्तक लागू गरिएको बताए ।

‘बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले नै सबै विद्यालयका प्रधानाध्यापकहरु समेतको सहमतिमा यो निर्णय गरिएको भन्दै यसलाई अन्यथा लिन हुँदैन’ संयोजक गजुरेलले भने ।गाउँपालिकाले शिक्षा ऐन र कार्यविधिअनुरुप नै पाठ्यक्रम लागू गरेको दाबी गरिरहँदा कुन मापदण्डका आधारमा यही पाठ्यपुस्तक लागू गर्नुभयो भन्ने जिज्ञासामा भने गजुरेलले स्पष्ट जवाफ दिएनन् ।

संविधानले दिएको अधिकारअनुसार गाउँपालिकाले आफ्नो पालिकाभित्र कस्तो शिक्षा लागू गर्ने भन्ने कानुन निर्माण गरेर कार्यान्वयन गर्न पाउँछ । तर कक्षा १ को निम्ति केन्द्रले तोकेको पाठ्यक्रम गाउँपालिकाले तोकेको एलकेजीको पाठ्यपुस्तकले सिकाइ उपलब्धि पूरा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न रहेको स्थानीय शिक्षासेवी भरत सिग्देलले बताए ।विद्यालयले पहिलो त्रैमासिक परीक्षा सञ्चालन गर्ने समय आउनै लाग्दा पनि के गर्ने हुनेभन्नेबारे विद्यालय भने स्पष्ट छैनन् ।

हाल राज्यले सबै निजी विद्यालयलाई सार्वजनिक रुपान्तरण गरी शिक्षालाई समान बनाउने भनिरहेको बेला गाउँपालिकाले चाहिँ निजी विद्यालयकै पुस्तक लहडकै भरमा लागू गर्नुले पालिकाको नियतमाथि प्रश्न खडा भएको सरोकारवालको भनाई छ ।

तारकेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक प्रसाद दाहालले प्रक्रियागत रुपमा शिक्षा समितिले गरेको निर्णयमा कुनै त्रुटी नरहेको बताए ।

प्रकाशित मिति : May 23, 2019 at 1:51 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/