३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

प्रहरीसँग मुठभेटमा घाइते भएका विप्लवका कार्यकर्ताको मृत्यु

८ जेठ, काठमाडाैँ । भोजपुरमा प्रहरी मुठभेडमा घाइते भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताको उपचारको क्रममा मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र चन्दका कार्यकर्ताबीच मुठभेड हुँदा मङ्गलबार दिउँसो प्रहरीको गोली लागी षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका विप्लव कार्यकर्ता ३२ वर्षीय तीर्थराज घिमिरे घाइते भएका थिए ।

फाइल फाेटाे

घाइते घिमिरेको उपचारको क्रममा आज बिहान ३ः३० बजे विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिनुभयो । भोजपुरको भैँसीपङ्खाको भीरको सडकमा ढुङ्गा झरेर बाटो अवरोध भएपछि घिमिरेलाई धरान पु¥याउन ढिला भएको प्रजिअ खतिवडाको भनाइ छ ।

उहाँले भन्नुभयो, “घिमिरेको धरानमा उपचारका क्रममा मृत्यु भएको हो, घटना भएको स्थलबाट सडकसम्म बोकेर ल्याउन प्रहरीलाई पाँच घण्टा लाग्यो, त्यसपछि भैँसीपङ्खामा सडक अवरोध हुँदा हामीले च्याङ्ग्रेबाट एम्बुलेन्स मगाएर पठाएका थियौँ, पु¥याउन समय लागेका कारण धेरै रक्तश्राव हुँदा मृत्यु भएको हुनसक्छ ।”

घिमिरेको साथमा हतियारसमेत फेला परेको बताइएको छ । सो ठाउँ छिनामखु र खोटाङको केपलासगढी गाउँपालिकाको सीमाक्षेत्रमा पर्दछ । सो क्रममा कार्यकर्ताले प्रहरीमाथि फायर खोलेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाले बताउनुभयो । दर्जनौँको समूहमा रहेका हतियारधारी समूह त्यहाँबाट जङ्गलको बाटो हुँदै भागेको बताइएको छ ।रासस

प्रकाशित मिति : 11:32