९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

पासङल्हामु राजमार्गको दूर्दशा देखेपछि उपप्रधानमन्त्री पोखरेलले भने ‘ठेकेदारहरू साँढेजस्ता भए’

६ जेठ, काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले नुवाकोट प्रवेशको मुख्य मार्ग पासङल्हामु राजमार्गको दूर्दशा देखेर चिन्ता व्यक्त गरेका छन । पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेलाको तेस्रो दिन आज प्रदर्शनीस्थल नुवाकोटको ककनी गाउँपालिका ४, रानीपौवामा आयोजित सभामा सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सडकको दुरूवास्थाले ठेकेदारको कार्यक्षमता छर्लङ्ग पारेको बताए । उनले ठेकेदारहरू साँढेजस्ता भएको भन्दै जेठ ४ गते सोही सभामा उपस्थित भएर प्रचण्डले गरेको प्रतिवद्भताको स्मरण गरे ।

उपप्रधानमन्त्री पोखरेलले नेकपा अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्डले पनि आफ्नै घरभेटी भएपनि काम नगर्ने ठेकेदारलाइ सरकारले कारबाही गर्नुपर्ने बताएको र आफूले सहयोग गर्ने प्रतिवद्धता जनाएको भन्ने प्रसंग उल्लेख गर्दै सडकको अवस्था सुधार आउनेमा केही आशा गर्न सकिने बताए । उपप्रधानमन्त्री पोरखरेलले भने, “राजनीतिको छाता ओढेर साँढे बनेर हिडिरहेका ठेकेदारहरुले जनतामाथि मनमरी गरिरहेका छन् । यसको संरक्षण हुँदैन । तिनीहरु दण्डित हुँदैछन् ।”

उनले विगतमा एसियाली विकास बैँक र विश्व बेैँकको नीतिमा लागेर निजीकरण र उदाकरीकरणमा लागेको जनाँदै पसाङ् ल्हामू राजमार्गको दुर्दशा अन्त्यका लागि सार्वजनिक खरिद ऐन परिवर्तन गरेरै भए पनि बेथितिको अन्त्य गरिने बताए । उपप्रधानमन्त्री पोखरेलले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाका साथ सरकार आफ्नो परीक्षामा उत्रन तयार रहेकाले यसमा साथ दिन पनि आव्हान गरे । उनले भने, “हामी जनताका बीचबाट कहिल्यै भाग्दैनौँ, चुनावमा बोलेका कुरा पुरा गरेर छाड्छौँ, अब सबै विकास निर्माणका अभियानमा जुटौँ ।”

उपप्रधानमन्त्री पोखरेलले राजनीतिक अधिकार प्राप्तिको लडाईँ सकिएकाले लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि विचार बोकेका आधारमा कसैलाई भूमिगत वा हिंसात्मक राजनीति गर्नुपर्ने आवश्यकता नरहेको बताए । उनले भने “आफ्ना विचारका आधारमा जनतामा गएर विश्वास जितेर राज्यसत्ता सञ्चालको जिम्मेवारीमा आउने बाटो खुल्ला छ । विचारका आधारमा कोही दयिडत हुनुपर्ने छैन । त्यसैले अब आर्थिक समृद्धि, पर्यटन विकास र उत्पादनका क्षेत्रमा सबै दल, नागरिक समाज र व्यत्तिहरु लाग्नुपर्छ ।”

यस्तै उपप्रधानमन्त्री पोखरेलले भने, “कोदो र फापर पनि किनेर ल्याउनुपर्ने । खेतबारी बाँझै छ । यस्तो स्थिति रहनु हुँदैन । जुनसुकै पार्टीमा लागेपनि देशलाई धनी बनाउने, जनतालाई सुखी बनाउने अभियानमा लाग्नुपर्छ । यसका लागि हामी काँग्रेससँग पनि सहकार्य गर्न चाहान्छौँ । विकास निर्माणमा हातेमालो गर्न चाहान्छौँ । अहिले देशले खोजेको यही हो ।”

प्रकाशित मिति : 22:00