मेलम्ची खानेपानीको बाँकी काम सम्पन्न गर्न सर्वदलीय समिति गठन गरिने
१ जेठ, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकारले सर्वदलीय समिति गठन गर्ने तयारी गरेको छ । खानेपानी मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले सो आयोजनाको बाँकी काम सम्पन्न गर्न प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने वित्तिकै सर्वदलीय समिति बनाउने तयारी गरिएको जानकारी दिएका हुन् ।
संघीय संसदको विकास तथा प्रविधि समितिको बुधबार बसेकाे बैठकमा बोल्दै उनले सो आयोजनाको बाँकी काम एक वर्षभित्र सम्पन्न गर्ने सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख गरिएकाले त्यसमा शंका नगर्न पनि समितिका सदस्यहरुसँग आग्रह गरे ।

एक हप्ताभित्र सर्वदलीय समिति बनाएर सो आयोजनाको बाँकी कामलाई तीव्रता दिइने सचिव शर्माको योजना छ । सचिव शर्माले सो आयोजनाको बाँकी काम छोडेर हिँडेको इटालियन कम्पनी सिएमसीलाई फर्काउने प्रयास असफल भएपछि सरकारले सो आयोजनाको बाँकि काम पनि सुरु गरिएको जानकारी दिए ।
सरकारले एसियाली विकास बैंक (एडीबी)को लगानीमा सो आयोजनाको बाँकी कामलाई पनि अघि बढाएको हो । टनेलमा नटबोल्ड कस्ने कामलाई सुरु गरिएको पनि खानेपानी मन्त्रालयले जनाएको छ । सचिव शर्माले शुद्ध खानेपानी पिउने संवैधानिक अधिकारलाई सुनिश्चित गर्न जनशक्तिको अभाव रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि पहल गरि दिन पनि समितिको गम्भिर ध्यानाकर्षण गराए ।
प्रकाशित मिति : 17:19







