६ दिने भ्रमणका लागि प्रधानमन्त्री ओली भियतनाम प्रस्थान, यस्ता छन् कार्यसूचि
२६ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि भियतनाम प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली केहीबेर अघि भियतनामतर्फ प्रस्थान गर्नुभएको हो । भियतनाम र कम्बोडियाका प्रधानमन्त्रीको निमन्त्रणामा प्रधानमन्त्री ओली आज त्यसतर्फ जानुभएको हो । भियतनाम प्रस्थान गर्नुअघि उहाँलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवंम रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरू र उच्च पदस्थ व्यक्तिहरूले बिदाइ गर्नुभएकाे छ ।
भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, नेपाल राष्ट्रिय पर्यटन व्यवसायि संगठनका महासचिव पूर्ण कुँवर, संघीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत र गैरसरकारी क्षेत्रका प्रतिनिधि तथा केही सञ्चारकर्मी रहनुभएकाे छ ।

प्रधानमन्त्री ओली आज भियतनाम पुग्नुहुनेछ । भियतनाममा उहाँ वैशाख ३० गतेसम्म व्यस्त रहने कार्यसूची रहेको छ । भियतनाममा रहँदा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ । यस्तै नेशनल एसेम्बेलीका अध्यक्षसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भियतनामको ह नाम प्रान्तमा आयोजना हुने अन्तरराष्ट्रिय वैशाख दिवस तथा हो चि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ । दुई देशबीच द्विपक्षीय सम्बन्ध प्रगाढ पार्न केही सम्झौतासमेत हुने अपेक्षासमेत गरिएको छ ।

प्रधानमन्त्री ओली भियनतामको भ्रमण सकाएर जेठ ३० गते कम्बोडिया जानुहुनेछ । त्यहाँ उहाँले आफ्ना समकक्षी हुन सेन, नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेट गर्ने तय भएको छ । भियतनामको भ्रमणमा जस्तै कम्बोडियामा रहँदा पनि प्रधानमन्त्री ओलीले द्विपक्षीय हित प्रवर्द्धनलगायत विषयमा छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओली आगामी जेठ १ गते स्वदेश फर्कनु हुनेछ ।
प्रकाशित मिति : 12:18







