नेपालले समाजवादी आन्दोलनको नयाँ र सफल ढाँचा विश्वलाई दिन सक्नुपर्छः प्रचण्ड
१८ वैशाख, काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता र समाजवादी आन्दोलनको नयाँ र सफल ढाँचा विश्वलाई दिन सक्नुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “विकास, समृद्धि र समाजवादको सफल नयाँ ढाँचा हामीबीच एकता, समझदारी र सङ्कल्पबाट मात्र सम्भव छ, त्यसका लागि के सत्ता पक्ष के प्रतिपक्ष एक भएर अघि बढ्नु पर्दछ ।” अझै पनि समाजवादी कि पूँजीवादी बाटोमा अघि बढ्ने भन्ने चुनौती रहेको बताउँदै अध्यक्ष प्रचण्डले संविधानको मौलिक हकमा उल्लेखित विषयवस्तु कार्यान्वयनमा चुनौती भए पनि त्यसलाई अवसरका रुपमा लिएर अघि बढ्न सक्नुपर्छ भन्नुभयो ।
राजनीतिक परिवर्तनको आन्दोलनमा श्रमिकको बलिदानीपूर्ण योगदान नभएको भए अहिले मुलुकमा लोकतान्त्रिक गणतन्त्र सम्भव थिएन भन्दै उहाँले अझै पनि ठूलो सङ्ख्यामा अभाव र अपमानमा बसेका मजदूरको हितका खातिर कम्युनिष्ट आन्दोलन आक्रमकरुपमा अघि बढिरहेको बताउनुभयो ।

उपप्रधानमन्त्री एवं सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र प्राप्तिका लागि मुलुकमा भएका हरेक आन्दोलनमा श्रमिक वर्गका श्रम र पसिना बगेको बताउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक सुरक्षा र श्रमिकको हित तथा अधिकारका लागि कानून बने पनि व्यवहारमा लागू गर्न निकै चुनौती छ, श्रमको सम्मान गर्ने विधि र प्रणाली हामीले स्थापित गर्न आवश्यक छ ।”
नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले जनआन्दोलनका बलमा प्राप्त गरेको प्रणालीलाई सफल बनाउन सङ्घीय सरकार गठन गरेर मात्र पुग्दैन अधिकार हस्तान्तरण हुन आवश्यक छ भन्नुभयो । उहाँले भन्नुभयो, “भू–माफिया र विभिन्न काण्डमा संलग्न व्यक्तिलाई खबरदार उम्काउने काम नहोस्, रोजगारी बढाउने, लगानी भित्र्याउने र उत्पादन बढाउने काममा लाग्नुहोस्, तर विपक्षका लागि अरिगाल उत्पादन र बुद्धिजीवीलाई थलो पार्ने काम नगर्नुस् ।”

श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले आगामी पाँच वर्षभित्रमै काम विशेषले बाहेक बाध्यात्मक परिस्थितिले रोजगारीका लागि विदेश जान बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “श्रमिकमाथि कुनै नाममा हुने शोषण अन्त्य गर्न सरकार प्रतिबद्ध छ, सामाजिक न्यायसहितको सुरक्षा ऐन कार्यान्वयन गरिनेछ, लगानीमैत्री वातावरण र गुणस्तरीय रोजगार तयार हुनेछ ।”
राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतो ‘समृद्ध नेपाल र सुखी नेपाली’को नाराले मात्र विकास सम्भव नहुने भएकाले सङ्घीयताको मर्म र भावनाअनुरुप काम गर्न सरकारलाई सुझाव दिनुभयो । उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ट)का अध्यक्ष विनोद श्रेष्ठलगायतका श्रमिक नेताले अन्तर्राष्ट्रिय श्रमिक दिवस र श्रमिका हक अधिकारका विविध पक्षका बारेमा प्रकाश पार्नुभएको थियो ।

‘सबै न्यायिक रोजगार दातालाई आह्वान सामाजिक सुरक्षामा सूचीकरण हाम्रो अभियान’ मूल नाराका साथ १३०औँ अन्तर्राष्ट्रिय मजदूर दिवस यहाँ मनाइएको हो । सो अवसरमा प्रधानमन्त्री ओली आन्दोलनमा महत्वपूर्ण योजना पु¥याउने लक्ष्मण बस्नेत, मुकुन्द न्यौपाने, विष्णु रिमाल र शालिकराम जम्मरकट्टेललाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : 20:49









