‘समृद्ध नेपाल, सुखी नेपाली’को आधार तयार गर्न संसदको बजेट अधिवेशन सफल हुन्छः नेम्वाङ
१६ वैशाख, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङले जनताको चाहना र भावनाअनुरुप संसदले कसरी काम गर्छ र कसरी एकताबद्ध भएर अघि बढून् भनेर सबैले यो अधिवेशनलाई निकै चासोका साथ हेरिरहेको बताउनुभएको छ । सोमबारबाट सुरू भएको संसदको बजेट अधिवेशनको सुरूवातीमा बोल्दै नेता नेम्वाङले यो अधिवेशनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आधार तयार गर्नुपर्छ भन्दै उहाँले यो घडीमा सत्ता पक्ष र प्रतिपक्ष एक भएर अघि बढ्नुपर्नेमा जनता निराश छन् भन्ने भनाइ समयसापेक्ष नभएको धारणा राख्नुभयो ।
उपनेता नेम्वाङले भन्नुभयो, “हामी प्रतिपक्षलाई सम्मान गर्छाैँ, प्रतिपक्ष राज्यको अभिन्न अङ्ग हो, प्रतिपक्षले पनि सोहीअनुरुप जिम्मेवारी प्रदर्शन गर्नेछ । हामी मिलेर देशको विकास गर्नुको विकल्प छैन । जनतालाई आश्वस्त तुल्याउन र परिणाम दिन सकेन भने प्रणालीमै खोट लाग्न सक्छ ।” सबै खाले आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको बताउँदै उहाँले जनतालाई सकारात्मक परिणाम देखाउनुको बिकल्प नरहेको उल्लेख गर्नुभयो ।

संसद सशक्त र प्रभावकारी भएमा पारदर्शी र जवाफदेहीलाई स्थापित गर्न सकिन्छ भन्दै उपनेता नेम्वाङले निरुङ्कुशताको विरुद्ध समाजवाद उन्मुख संविधानको भावनाअनुरुप अघि बढ्न आवश्यक भएको बताउनुभयो । अधिवेशन ‘समृद्ध नेपाल, सुखी नेपाली’को आधार तयार गर्न सफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रकाशित मिति : 23:37









