९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

विकास निर्माणमा राजनीति नगरौँः अध्यक्ष तिमिल्सिना

१४ वैशाख, कास्की । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणमा अनावश्यक राजनीति गर्नाले देशले विकासमा फड्को मार्न नसकेको बताउनुभएको छ । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा निर्माण गरिने दिव्य दर्शन सरोवर एवं शान्ति उद्यान भवनको पोखरा–५ मा आज शिलान्यास गर्दै उहाँले विकास निर्माणको मामिलामा विगतमा दलका नेताको खिचातानी र राजनीतिकरणको कारण मुलुकमा परिवर्तन र विकास हुन नसकेको भनाइ राख्नुभयो ।

व्यक्तिगत स्वार्थ भन्दामाथि उठेर सबै राजनीतिक दलका नेता देश विकासमा एक ढिक्का भएर लागेमा मात्र देशमा समृद्धि हासिल हुने धारणा राख्दै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “विकास निर्माणका मुद्दामा राजनीतिक खिचातानी नगरी रचनात्मक सुझाव र सल्लाहका साथ हातेमालो गर्न आग्रह गर्दछु ।”

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले इमान्दारिता र पारदर्शीताबाट नै विकास निर्माणका योजना कार्यान्वयन हुने बताउनुभयो । भवन निर्माणको लागि रु सात करोड लाग्ने गुरुयोजना तयार पारिएको छ । आगामी पाँच वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको सो योजनाको पहिलो वर्ष राजयोग भवन, पैदलमार्ग, गाडी पार्किङ निर्माण गरिने ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका महासचिव शैलेन्द्रकुमार बरालले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : April 27, 2019 at 9:32 pm