८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

‘पिँजडाका चरी’ नहुनोस् : मन्त्री बाँस्कोटा

१४ वैशाख, काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विकासका समाचार नसमेट्ने टेलिभिजन र मोबाइलबाट सामाजिक सञ्जालमा विकृती फैलाएको मात्र हेर्नेहरु ‘पिँजडाका चरी’ बन्ने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकका सहकारी अभियन्ता दिलीप शर्माद्वारा लिखित ‘सहकारीको सारथी’ नामक पुस्तक आज विमोचन गर्दै उहाँले भन्नुभयो, “विकास हेर्ने दिमाग बक्समा सीमित पारेर सकुचित बन्नु हुन्न, पहिला बक्सबाट दिमाग निकाल्नुस् अनि विकास हेर्न राजमार्ग र गाउँगाउँमा दौडनुस् । टेलिभिजन र मोबाइलमा कोकोहोलो मच्चाउनेको दिमाग ‘बक्सदेखि बक्ससम्म’ मात्रै हुन्छ, त्यस्ता क्रियाकलाप हेरेर पिँजडाका चरी नहुनोस् ।”

“सरकारको चालू योजना र निकट भविष्यका योजनाबारे राम्रोसँग बुझेपछि मात्रै आलोचना गर्नुस्”, उहाँले भन्नुभयो, “सकारात्मक सोच र चिन्तनले मात्रै सही दृष्टि बन्छ, अब दृष्टि बदल्नु जरुरी छ ।” मन्त्री बाँस्कोटाले सरकारले विद्यालय पुनःनिर्माणको कामलाई तीव्रता दिइरहेको बताउनुभयो ।

उहाँले अधिकांश सञ्चार माध्यमले विकासका कामलाई प्रकाशन प्रसारण गर्न कञ्जुस्याइँ गरेको आरोप लगाउनुभयो । मन्त्री बाँस्कोटाले वर्तमान अवस्थामा ५२ प्रतिशत नेपालीमा श्रमशक्ति भएकाले समृद्धिको अभियानमा अवसर भएको बताउनुभयो । “यो श्रमशक्ति सधैँभरि रहन सक्दैन, यही अवसरमा इच्छा शक्तिमार्फत उत्पादनतर्फ लाग्नुपर्छ”, उहाँले भन्नुभयो । उत्पादन र समृद्धिको सम्बन्ध क्रान्तिकारी ढङ्गले अघि बढाउनुपर्ने उहाँको धारणा थियो ।

बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादेले स्थानीय तहले सहकारीलाई सूचीकृत गर्दै उनीहरुको गतिविधि नियमितरुपमा अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले बैंकमा ११ हजार सहकारी आबद्ध भएको जानकारी दिँदै देशका करीब ३५ हजार सहकारीमध्ये १३० वटामा समस्या आएकाले क्रमैसँग समाधान गर्दै जाने बताउनुभयो ।

राष्ट्रिय सहकारी महासङ्घका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले विश्वका १२ प्रतिशत मानिस सहकारीमा आबद्ध भई गरीबी न्यूनीकरणमा ठूलो मद्दत पुगेको बताउनुभयो । उहाँले नेपालका ६४ लाख व्यक्ति सहकारीमा आबद्ध भई रु साढे छ खर्ब पूँजी लगानी भएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : 19:04