४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

चार करोड घुस खाएको आरोप लागेका राजदूत रमेश कोइरालालाई फिर्ता बोलाउने सरकारको निर्णय

१२ वैशाख, काठमाडाैँ । वैदेशिक रोजगारीमा जाने न्यून आय भएका नेपाली युवाहरूलाई लुट्न र लुटाउन भूमिका खेल्दै आएको आरोप लागेका कतारका लागि नेपाली राजदूत रमेश प्रसाद कोइरालालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ । सरकारले अनेक खालका सिण्डिकेट तोडेर वैदेशिक रोजगारीमा जाने युवालाई शून्य लागतमामात्र पठाउने प्रक्रिया अघि बढाइरहेको परिप्रेक्षमा उनले भने नेपालमा कतारको भिसा सेन्टर स्थापनाका लागि राजदूतको हिसाबमा आफूले सकारात्मक भूमिका खेल्ने भन्दै चार लाख डलर अर्थात चार करोड भन्दा बढी नेपाली रूपैयाँ घुस वापत बुझेको आरोप लागेको थियो । बिहीबार सरकाको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए ।

राजदूतमा नियुक्ति अगावै विवादित पृष्ठभूमिका कोइरालाले अल्ट्राकिरण कम्पनीका मालिक विवादित व्यक्ति बंगलादेशी नागरिक मोहम्मद अमिन बिन अब्दुल नुर (अमिन)सँग कतारमा कगजात मिलाउने शर्तमा पैसा बुझेको विषयमा यसअघि दैनिकीमा प्रकाशित भएको थियो । कतार भिसा सेन्टर खोल्न भन्दै गैरकानुनी काम गरिरहेका व्यवसायीहरूको समूहले नेपालस्थित कतारी राजदूतसँगको भेटमा उक्त कुराको रहस्य खोलेका थिए । भिसा सेन्टरको नाममा पैसाको खेल भएपछि नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहमद अल हेल समेत चिन्तित बनेका थिए ।

नेपालमा कतारको भिसा सेन्टर सञ्चालन गर्न खोज्ने अल्ट्राकिरणमा बंगलादेशी नागरिक अमिनसँगै भारतीय र सिंगापुरका नागरिक पनि रहेका छन । मलेसियामा उनीहरूले खडा गरेको सिण्डिकेट अन्त्य भएर त्यहाँबाट भाग्नुपर्ने स्थिति बनेपछि उनीहरू कतारका नाममा ठगी गर्न सक्रिय रहेका छन । नेपालमा कतारको भिषा सेन्टर सञ्चालन गर्ने भन्दै नाै महिनादेखि महाराजगञ्जको एउटा ठूलो भवनको चार तलामा भाडामा लिएर अल्ट्राकिरणका एजेण्टहरूले काम गरिरहेका छन । अल्ट्राकिरणको नेपाली पार्टनरका रूपमा नपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सालो भुषण राणा, नेपाली कांग्रेसकै नेता एवं पूर्व श्रम राज्यमन्त्री टेकबहादुर गुरूङ, एसओएस म्यानपावरका हेम गुरूङ, याख्या म्यानपावरका भीम रोक्का, मलेसिया ठगी प्रकरणमा फरार रहेका व्यवसायी कैलाश खड्का समेत रहेका छन ।

यो पनि पढ्नुहोस्

–कतारको भिसा सेन्टरका लागि कागजपत्र मिलाउने भन्दै राजदूत कोइरालाले खाए चार करोड घुस !

–कतारको भिसा सेन्टरका नाममा गैरकानुनी चलखेल, देउवाको सालोदेखि रोहन गुरूङसम्म संलग्न

प्रकाशित मिति : April 25, 2019 at 7:08 pm