१० मंसिर २०८३, बुधबार | Wed Nov 25 2026

नशालु पदार्थ खुवाएर शृङ्खलाबद्ध लुटपाट गर्ने गिरोह पक्राउ

https://www.muktinathbank.com.np/online/loan-application

९ मंसिर, काठमाडौँ । सर्वसाधारणलाई नसालु पदार्थ मिसाइएको खानेकुरा खुवाएर बेहोस बनाइ सुनका गरगहना, मोबाइल तथा नगद लुटपाट गर्ने घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गिरोह नै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार काभ्रेपलाञ्चोकको बनेपा तथा आसपासका क्षेत्रमा विभिन्न मितिमा भएका लुटपाट घटनामा संलग्न भई फरार रहेका प्रतिवादीहरूलाई इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ घर भई हाल बनेपा नगरपालिका–५ बस्ने ५० वर्षीया सङ्गीता तामाङ (कार्की), धुलिखेल नगरपालिका–२ घर भई हाल बनेपा नगरपालिका–७ बस्ने ३८ वर्षीय बिर्खबहादुर तामाङ, दोलखाको बिगु गाउँपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ बस्ने ४६ वर्षीय नवराज घिमिरे बिक र नमोबुद्ध नगरपालिका–२ घर भई हाल बनेपा नगरपालिका–७ बस्ने ३२ वर्षीय प्रविन सुनुवार रहेका छन् ।पक्राउ परेकाहरूलाई अनुसन्धान पूरा गरी अभियोजनका लागि जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकमा पेस गरिएको प्रहरीले जनाएको छ ।

 प्रहरीको अनुसन्धानबाट उनीहरूले सोझासाझा तथा वृद्धवृद्धालाई निसाना बनाएर पेय पदार्थमा नशालु पदार्थ मिसाई लुटपाट गर्ने गरेको खुलेको छ। गत असोज २४ गते बनेपा–६ मा सिन्धुपाल्चोक मेलम्ची–४ का ५४ वर्षीय गंगा बहादुर गुरुङलाई फकाइफुल्याई ‘फ्रुटी’ मा नशालु पदार्थ मिसाएर खुवाइएको थियो। गुरुङ बेहोस भएपछि उनको साथमा रहेको नगद ४ हजार रुपैयाँ र ४ वटा राडी लुटेर उनीहरू फरार भएका थिए। नशालु पदार्थको असरले गम्भीर बनेका गुरुङको बनेपास्थित शिर मेमोरियल अस्पतालको आईसीयू (ICU) मा ४ दिनसम्म उपचार भएको थियो।

त्यस्तै, गत भदौ १० गते बनेपा–४ (खानीखोला–४ स्थायी घर) बस्ने ७० वर्षीया हिरामाया जिम्मा र उनका ७५ वर्षीय श्रीमान् हस्तबहादुर जिम्माको घरमै पुगेर उनीहरूले दुधमा नशालु पदार्थ मिसाइदिएका थिए। दम्पती बेहोस भएपछि कानमा लगाएको २ थान सुनको रिङ र १ थान सुनको तिलहरी लुटपाट भएको प्रहरीले जनाएको छ। घटनापछि हिरामाया सात दिन उपचार गर्नुपरेको थियो भने हस्तबहादुर एक दिन अस्पताल बसेका थिए ।

यस्तै, बनेपा नगरपालिका–३ मा बस्दै आएका ५१ वर्षीय हेमबहादुर बस्नेतलाई भदौ २८ गते नसालु पदार्थ मिसाइएको खानेकुरा खुवाएर बेहोस बनाई लुटपाट गरिएको थियो । उक्त घटनामा उनको साथबाट सुनको सिक्री एक थान, मोबाइल एक थान, सुनको औँठी एक थान र सुनको बाला एक थान लुटिएको प्रहरीको प्रेस नोटमा उल्लेख छ ।

भदौ २३ गते दिउँसो करिब १ बजे नमोबुद्ध नगरपालिका–११ मा बस्दै आएकी ६७ वर्षीया पञ्चमाया तामाङ घरमै बसिरहेको अवस्थामा दुई जना महिला पुगेका थिए । उनीहरूले खानेकुरामा नसालु पदार्थ मिसाएर खुवाई बेहोस बनाएपछि कानमा लगाएको सुनको रिङ लुटेर लगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकी सङ्गीता तामाङ र बिर्खबहादुर तामाङ यसअघि पनि यस्तै प्रकृतिका घटनामा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ । भदौ ३१ गते काठमाडौं महानगरपालिका–६ तिनचुलीस्थित काञ्छी तामाङलाई नसालु पदार्थ सेवन गराई बेहोस बनाएर सुन तथा नगद चोरी गरेको घटनामा समेत उनीहरूको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

उक्त घटनामा पनि सङ्गीता तामाङ र बिर्खबहादुर तामाङको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ । त्यसैगरी, सङ्गीता तामाङविरुद्ध यसअघि काठमाडौं जिल्ला अदालतमा चोरीसम्बन्धी मुद्दा चलेको र धरौटीमा छुटेको विवरण पनि प्रहरीले सार्वजनिक गरेको छ ।

बिर्खबहादुर तामाङविरुद्ध पनि चोरी तथा डाँका मुद्दा चलेको र अदालतबाट धरौटीमा छुटेको प्रहरीको प्रेस नोटमा उल्लेख छ । नवराज घिमिरे बिकले चोरीको सुनका गरगहना बिलबिना खरिद गरी स्वरूप परिवर्तन गरेर राख्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीविरुद्ध पनि यसअघि चोरीसम्बन्धी मुद्दा चलेको र अदालतबाट धरौटीमा छुटेको विवरण सार्वजनिक गरिएको छ । प्रविन सुनुवारको हकमा पनि चोरीको सुनका गरगहना खरिद गरी कारोबार गरेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : November 25, 2026 at 4:38 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/