पुराना र असान्दर्भिक कानुन खारेज गर्नुपर्छ : अर्थमन्त्री वाग्ले
८ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समय सापेक्ष नरहेका र पुराना कानुन खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानुन सुधार गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले नयाँ कानुन थप्दै जाने तर पुराना कानुन संशोधन र खारेज गर्न ढिलो गर्ने प्रवृत्तिले अर्थतन्त्रमा अनावश्यक नियामकीय बोझ बढेको बताए । उनले विभिन्न अध्ययन तथा प्रतिवेदनले खारेज गर्नुपर्ने भनी औँल्याएका १५ वटा ऐन खारेज गर्ने प्रस्ताव अघि बढाइएको जानकारी दिए । नयाँ आयोग गठन गरेर थप अध्ययन गर्नेभन्दा पनि यसअघि नै विभिन्न निकाय तथा अध्ययन प्रतिवेदनबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने उद्देश्यले विधायिकी सुधारको प्रक्रिया अघि बढाइएको उनले स्पष्ट पारे ।

अर्थमन्त्री वाग्लेले नियमन आवश्यक भए पनि अत्यधिक कानुनी व्यवस्थाले आर्थिक गतिविधिलाई अवरुद्ध गर्न सक्ने बताए । एउटा कानुनले आर्थिक गतिविधि सहज बनाउने तर अर्को कानुनले नियन्त्रण गर्ने अवस्था हुँदा नीतिगत विरोधाभास सिर्जना हुने उनको भनाइ थियो । पुराना ऐनहरू तत्कालीन समय र परिस्थितिअनुसार बनेका भएपनि अहिलेको आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा तिनको सान्दर्भिकता पुनरावलोकन गर्नुपर्ने बताए । पुराना र असान्दर्भिक कानुन खारेज गरेर आवश्यक व्यवस्था आधुनिक ऐनहरूमा समेट्नुपर्ने अर्थमन्त्री वाग्लेको भनाइ छ ।
प्रकाशित मिति : November 24, 2026 at 1:17 pm













