एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने फाइनलमा दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी यसपटक पनि उपाधि रक्षा गर्ने योजनामा छ। सात खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेको लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।
कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ। अघिल्लो संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई नै पराजित गर्दै उपाधि जितेको थियो। त्यसैले यसपटक पनि लुम्बिनी आफ्नो वर्चस्व कायम राख्ने दाउमा हुनेछ।

यता, सुदूरपश्चिम रोयल्स भने अघिल्ला दुई संस्करणको फाइनलमा भोगेको हारको शृङ्खला तोड्दै पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ। लिग चरणमा १० अंकसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भए पनि दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराउँदै लगातार तेस्रो पटक फाइनलमा पुगेको हो।
कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिमका लागि यो फाइनल अघिल्लो संस्करणको हारको बदला लिने अवसर पनि हो। लगातार दुई पटक उपाधि नजिक पुगेर चुकेको टोली यसपटक भने ट्रफी उचाल्ने योजनामा छ।
एकातिर उपाधि जोगाउने लक्ष्यमा रहेको लुम्बिनी र अर्कोतिर पहिलो पटक च्याम्पियन बन्ने अभियानमा रहेको सुदूरपश्चिमबीचको प्रतिस्पर्धाले आजको फाइनललाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ। अब कीर्तिपुरमा हुने महामुकाबलाले एनपीएलको नयाँ च्याम्पियन घोषणा गर्नेछ कि साविक विजेतालाई नै उपाधिमा दोहोर्याउनेछ भन्ने टुंगो लगाउनेछ।
प्रकाशित मिति : November 21, 2026 at 9:17 am













