५ मंसिर २०८३, शुक्रबार | Fri Nov 20 2026

डिजिटल कारोबारमा उछाल, असोजमा मोबाइल बैंकिङबाट ६ खर्ब बढीको कारोबार

https://www.muktinathbank.com.np/online/loan-application

४ मंसिर, काठमाडौं । नेपालमा विद्युतीय भुक्तानीको प्रयोग बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८३/८४ को आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार २०८३ असोज महिनामा मोबाइल बैंकिङ, क्यूआर कोड र डेबिट कार्डमार्फत उल्लेख्य कारोबार भएको छ।

राष्ट्र बैंकका अनुसार असोज महिनामा मोबाइल बैंकिङमार्फत ६ करोड ५९ लाख ६७ हजार कारोबार भएका छन्। ती कारोबारबाट कुल ६ खर्ब २ अर्ब १० करोड रुपैयाँ बराबरको रकम भुक्तानी भएको छ। त्यस्तै, क्यूआर कोडमार्फत ७ करोड ८१ लाख ४५ हजार कारोबार भएका छन्। यस माध्यमबाट २ खर्ब ७ अर्ब ५४ करोड रुपैयाँ बराबरको भुक्तानी भएको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी, डेबिट कार्ड प्रयोगकर्ताले असोज महिनामा ९८ लाख ६५ हजार कारोबार गरेका छन्। डेबिट कार्डमार्फत भएको यस्तो कारोबारको कुल रकम ८३ अर्ब ७३ करोड रुपैयाँ रहेको छ। तथ्याङ्कअनुसार कारोबार सङ्ख्याका आधारमा क्यूआर कोड भुक्तानी अगाडि देखिएको छ भने कारोबार रकमका आधारमा मोबाइल बैंकिङ पहिलो स्थानमा रहेको छ। मोबाइल बैंकिङ र क्यूआर कोडमार्फत हुने कारोबारको विस्तारले नगदरहित भुक्तानी प्रणालीप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको देखाउँछ।

असोज मसान्तमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १६ वित्त कम्पनी, ५० लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी जम्मा १०४ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । २०८३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या ११,३३२ रहेकोमा २०८३ असोज मसान्तमा ११,३०१ रहेको छ

२०८३ असोज मसान्तमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा रहेका निक्षेप खाताहरूको सङ्ख्या ६ करोड ४३ लाख ७० हजार ९८ रहेको छ भने कर्जा खाताहरूको सङ्ख्या २० लाख ५१ हजार ७१० रहेको छ  । २०८३ असोज मसान्तको प्रारम्भिक तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाको औसत प्राथमिक पुँजी र पुँजीकोषको जोखिम भारित सम्पत्तिसँगको अनुपात क्रमशः ९.५६ प्रतिशत र १२.३१ प्रतिशत रहेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूको खुद तरल सम्पत्ति तथा निक्षेपको अनुपात ३६.८७ प्रतिशत रहेको छ । २०८३ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात ५.८२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : November 20, 2026 at 3:39 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/