महँगी ६.३७ प्रतिशत, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च
४ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) ६.३७ प्रतिशत पुगेको छ । त्यस्तै थोक मुद्रास्फीति बढेर ७.२९ प्रतिशत पुगेको छ । त्यस्तै वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकांक १०.७५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
‘आर्थिक वर्ष २०८३/८४ को तीन महिना (२०८३ असोजसम्म) को तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी प्रतिवेदनमा उक्त तथ्यांक सार्वजनिक गरेको हो । गत आर्थिक वर्ष २०८२/८३ को सोही महिनामा उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत र थोक मुद्रास्फीति १.३२ प्रतिशत मात्र रहेको थियो ।
त्यस्तै, गत भदौ महिनामा समग्र उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको औसत उपभोक्ता मुद्रास्फीति ६.२२ प्रतिशत रहेको छ । गत आबको सोही अवधिको औसत मुद्रास्फीति १.६७ प्रतिशत थियो ।
असोजमा खाद्य तथा पेय पदार्थ समूहको उपभोक्ता मुद्रास्फीति ८.०४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.४६ प्रतिशत छ । गत आबको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक थियो भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशत रहेको थियो ।

असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक सबैभन्दा बढी १६.४४ प्रतिशतले बढेको छ । त्यस्तै, फलफूलको १५.४६ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको ११.८४ प्रतिशत, माछा तथा मासुको ८.९१ प्रतिशत, मरमसलाको ७.७१ प्रतिशत र तरकारीको ७.२८ प्रतिशतले मूल्य सूचकांक वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको मूल्य सूचकांक १२.१७ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ६.०१ प्रतिशत र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले बढेको छ ।
असोजमा सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा महँगी केही बढी देखिएको छ । ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.६३ प्रतिशतले बढ्दा सहरी क्षेत्रको सूचकांक ६.२८ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा सबैभन्दा बढी उपभोक्ता मुद्रास्फीति मधेश प्रदेशमा ७.३७ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ५.१३ प्रतिशत रहेको छ । भौगोलिक क्षेत्रअनुसार काठमाडौं उपत्यकाको उपभोक्ता मुद्रास्फीति ५.९२ प्रतिशत, तराईको ६.८८ प्रतिशत, पहाडको ६.१४ प्रतिशत र हिमालको ५.५७ प्रतिशत रहेको छ ।
असोज महिनामा थोक मुद्रास्फीति ७.२९ प्रतिशत रहँदा उपभोग्य वस्तुको थोक मुद्रास्फीति २.८७ प्रतिशतले बढेको छ । यस्तै, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मुद्रास्फीति क्रमशः ९.९८ प्रतिशत र ६.५६ प्रतिशत रहेको छ भने निर्माण सामग्रीको थोक मुद्रास्फीति ५.९३ प्रतिशतले बढेको छ । असोजमा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत रहँदा सन् २०२६ अक्टोबर महिनामा भारतमा मुद्रास्फीति ६.०९ प्रतिशत रहेको छ ।
२०८३ असोजमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकांक १०.७५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको असोजमा यस्तो सूचकांक ४.३५ प्रतिशतले मात्र वृद्धि भएको थियो । प्रदेशगत रूपमा तलब तथा ज्याला सूचकांकको वृद्धिदर मधेश प्रदेशमा सर्वाधिक १६.९४ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा कम २.६६ प्रतिशत रहेको छ । कोशी प्रदेशमा १६.४२ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा १२.२९ प्रतिशत, बागमती प्रदेशमा १०.२१ प्रतिशत, लुम्बिनी प्रदेशमा ७.२७ प्रतिशत र कर्णाली प्रदेशमा ३.०४ प्रतिशतले तलब तथा ज्याला सूचकांक वृद्धि भएको छ ।
प्रकाशित मिति : November 20, 2026 at 2:46 pm













