उल्लासमय जात्राहरू र ओझेलमा परेको गुठी संस्थान
-पवित्रा कुमारी पाण्डे
नेपाली समाजको धार्मिक, सामाजिक र सांस्कृतिक जीवनको मेरुदण्डका रूपमा प्राचीन कालदेखि स्थापित मौलिक व्यवस्था नै गुठी हो । इतिहासको विभिन्न कालखण्डमा मठ–मन्दिर, देवस्थल र सांस्कृतिक सम्पदाहरूको संरक्षण एवं पर्व, पूजाको निरन्तरताका लागि दाताहरूले आफ्नो हक छाडी सुम्पिएको जमिन तथा सम्पत्ति नै गुठीको रूप हो। गुठी संस्थान ऐनले पनि यसलाई देवी–देवताको पर्व, पूजा, जात्रा चलाउन वा सामाजिक र परोपकारी कार्यका लागि राखिएको देवस्वका रूपमा परिभाषित गरेको छ।
नेपालको सन्दर्भमा गुठी मुख्यतः राजगुठी र निजी गुठी गरी दुई स्वरूपमा क्रियाशील छन् । कुनै समय राज्य आफैँले सञ्चालन गरेको र पछि गुठी संस्थानमा हक सरेका राजगुठीहरू अन्तर्गत अमानत र छुट गुठी पर्दछन् । देशमा हाल करीब १,०५० को सङ्ख्यामा रहेका ‘अमानत गुठी’ जस्ता संयन्त्र हुन्, जसको सम्पूर्ण आम्दानी अक्षय कोषमा जम्मा हुन्छ र वार्षिक स्वीकृत बजेटका आधारमा खर्च व्यवस्थापन गरिन्छ। त्यस्तै, करीब १,०३२ को सङ्ख्यामा रहेका ‘छूट गुठी’मा परम्परा बमोजिम पर्व–पूजा चलाएर बाँकी रकम राजगुठीमा बुझाउने वा तोकिए बमोजिम उपयोग गर्ने व्यवस्था छ, जसको सम्पूर्ण हक संस्थानमै सरेको छ।
हाम्रो सांस्कृतिक गुठी प्रणाली कति पुरानो छ भन्ने सन्दर्भ कृषि युगको सुरुवात र सङ्गठित धर्मको इतिहाससँग जोडिन्छ । आर्थिक इतिहासकार महेशचन्द्र रेग्मीले आफ्नो पुस्तक ‘ल्यान्ड टेन्युर एन्ड ट्याक्सेसन् इन नेपाल’मा यो प्रणाली व्यवस्थित कृषि जत्तिकै पुरानो रहेको उल्लेख गरेका छन् । संस्कृतको ‘गोष्ठी’ शब्दबाट रूपान्तरित हुँदै आएको यस व्यवस्थाको ऐतिहासिक प्रमाण नेपाल संवत् २९२ ९वि.सं. १२२८० मा राजा जयचन्द्रले टुटेधारा र पाटी निर्माणका साथै बाटो सफा गर्न खेत दान गरेको अभिलेखबाट पनि पुष्टि हुन्छ । विशेष गरी लिच्छविकालमा गुठी व्यवस्था धार्मिक र सामाजिक जीवनको मुख्य आधार बनिसकेको थियो। त्यस कालमा जात्रा पर्वमा पानी खुवाउने ‘पानीय गोष्ठी’ धाराहरूको रेखदेख गर्ने ‘प्रणाली गोष्ठी’ यातायात सहज बनाउने ‘प्रवहण गोष्ठी’ मनोरञ्जनका लागि स्थापित ‘मल्लयुद्ध गोष्ठी’ र मूर्ति निर्माण गर्ने ‘अर्चागोष्ठी’ जस्ता विशिष्ट गोष्ठीहरूले सामाजिक र सांस्कृतिक संस्थागत विकासको बलियो जग बसालेका थिए।
यही ऐतिहासिक जगमा उभिएर गुठी संस्थानको प्रत्यक्ष सञ्चालन, समन्वय र व्यवस्थापनमा वर्षभरि नै देशका विभिन्न मठ–मन्दिरहरूमा जात्रा पर्वहरूको चक्र निरन्तर घुमिरहेको हुन्छ। तर विडम्बना नै भन्नुपर्छ, मिडिया र आम वृत्तमा भव्य जात्राहरूको चर्चा र दृश्य र व्यापक रूपमा आउँछन्, तर ती जात्राको प्राण धाउने र पर्दापछाडि बसेर सम्पूर्ण आर्थिक एवं व्यवस्थापकीय भार बेहोने गुठी संस्थानको भूमिका भने प्राय: ओझेलमा परेको देखिन्छ। वास्तवमा, संस्थान मातहतका ‘अमानत गुठी’ हरूका मुख्य लगानी र रेखदेखमा नेपालका सबैभन्दा ठूला र गौरवमय जात्राहरू सञ्चालन भइरहेका छन् । त्यसैगरी, नेपालको सबैभन्दा ठूलो सांस्कृतिक पर्व इन्द्रजात्राको सन्दर्भमा हनुमानढोका योसीं थथपानने (योसीं थानेगु), श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा चलाउने तथा राष्ट्रप्रमुखको उपस्थितिमा हुने तान्त्रिक पूजाहरूको सम्पूर्ण खर्च र व्यवस्थापकीय जिम्मेवारी गुठी संस्थानले नै बहन गर्दै आएको छ। नयाँ वर्षमा भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्राको रथ सञ्चालन र तान्त्रिक पूजाहरूमा संस्थानको प्रत्यक्ष आर्थिक रूपमा भूमिका रहँदै आएको छ।
काठमाडौँको सेतो मछिन्द्रनाथको रथयात्रा र ललितपुरको रातो मछिन्द्रनाथको रथयात्रा र राष्ट्रिय महत्त्वको रातो मछिन्द्रनाथको वर्षे मेलाका लागि आवश्यक पर्ने विशेष काठ सङ्कलन गर्ने, वेत र डोरीको प्रबन्ध गर्ने, रथ निर्माण गराउनेदेखि कहीँ नभएको हाँडीगाउँको जात्रा सम्पन्न गर्नसम्मको मुख्य पूजा र सम्पूर्ण व्यवस्थापन संस्थानको काँधमा छ। यस्ता विशाल पर्वहरूमा परम्परागत विधिअनुसार आवश्यक पर्ने विविध जिन्सी सामग्रीहरू सहित तान्त्रिक अनुष्ठानका लागि अपरिहार्य मानिने दोपाया तथा चौपाया जनावरहरूको समेत पूर्ण व्यवस्थापन गुठी संस्थानले नै गर्दै आएको छ।
नवरात्रीको समयमा काठमाडौँ, ललितपुर र भक्तपुरका तलेजु भवानी मन्दिरहरूमा गरिने विशेष गुह्य पूजाहरू, महाअष्टमीको कालरात्रि पूजा, महानवमीका दिन सर्वसाधारणका लागि मन्दिर खुला गरी त्यहीँ परम्परादेखि चढाइने तान्त्रिक बलिको लागि आवश्यक पर्ने दोपाया, चौपाया लगायतका सम्पूर्ण जिन्सी सामग्रीहरूको प्रबन्ध अमानत गुठीकै माध्यमबाट गुठी संस्थानले सम्पादन गर्दै आहिरहेको छ।
त्यस्तै, उपत्यका बाहिरको सन्दर्भमा गोरखाको प्रसिद्ध शक्तिपीठ मनकामना भगवती मन्दिरमा हुने विभिन्न पर्व पूजा र मेलाहरूको अवच्छिन्न निरन्तरतामा पनि संस्थानको भूमिका रहेको छ। ऐतिहासिकदेखि चल्दै आएको मनकामना माइको नित्य पूजा, बडादसैँ र चैते दसैँका अवसरमा गरिने विशेष बलिंसहितका गुह्य तान्त्रिक पूजाहरू र धान्य पूर्णिमामा लाग्ने प्रसिद्ध मेलाको आर्थिक तथा व्यवस्थापकीय संस्थानले बहन गर्दै आएको छ। मनकामनाको स्थापित परम्परा, आवश्यक जिन्सी र पुजारीहरूको व्यवस्थापनमा अमानत गुठीको यो संयन्त्रले पर्दापछाडि बसेर अभिभावकत्व प्रदान गरिरहेको छ। यसका साथै जनकपुरको विश्वप्रसिद्ध विवाह पञ्चमी र रामनवमी मेला, बराहक्षेत्र, मुक्तिनाथ, गोसाइँकुण्ड र महाशिवरात्रीको समयमा पशुपति क्षेत्रमा हुने विशेष मेला, साधुसन्तको सेवा एवं पूजाहरूको व्यवस्थापनमा गुठी संस्थानले अविच्छिन्न रूपमा मुख्य संरक्षकको भूमिका निर्वाह गरिरहेको छ। मिडियाले जात्रा र मेलाको उल्लास देखाइरहँदा त्यसको पृष्ठभूमिमा रहेको संस्थानको यस व्यवस्थापकीय पाटो र लगानीलाई उजागर गर्न थप स्पष्टताका लागि गुठी संस्थानले अग्रसर भई भूमिका खेल्नुपर्ने अवस्था देखिन्छ।
बदलिँदो आधुनिक परिप्रेक्ष्य र प्रविधिको युगमा यी गौरवमय पर्व, पूजा तथा जात्राहरूलाई परम्परागत रूपमा समेट्दै संस्थानलाई नवीन ढङ्गले अगाडि बढाउने प्रचुर सम्भावनाहरू छन्। सबैभन्दा ठूलो अवसर सांस्कृतिक पर्यटनको क्षेत्रमा छ। अमानत गुठीबाट सञ्चालन हुने मछिन्द्रनाथ, बिस्केट, इन्द्रजात्रा, तलेजु भवानीको ऐतिहासिक नवरात्री र मनकामना पर्व जस्ता विश्वकै ध्यानाकर्षण गर्न सक्ने विशाल सांस्कृतिक धरोहरहरूलाई अन्तर्राष्ट्रिय स्तरमा योजनाबद्ध रूपमा ब्रान्डिङ गर्न सके नेपाललाई अद्वितीय सांस्कृतिक गन्तव्य बनाउन सकिन्छ। दोस्रो, आधुनिक प्रविधिको प्रयोग गरी शताब्दीऔँ पुरानो तान्त्रिक विधि, गुठीयाहरूको ऐतिहासिक सञ्जाल र परम्परागत सङ्गीत एवं बाजागाजालाई डिजिटल आर्काइभमा सुरक्षित राख्न सकिन्छ, जसले भावी पुस्ता र अनुसन्धानकर्ताहरूका लागि मार्गप्रशस्त गर्नेछ। तेस्रो, संस्थान मातहत रहेका देवस्थल, ऐतिहासिक पाटी-पौवा, सत्तल र जग्गाजमिनको वैज्ञानिक एवं व्यावसायिक व्यवस्थापन गरी जात्रा सञ्चालनका लागि स्वावलंबन र आत्मनिर्भर अक्षय कोषहरूलाई अझ सुदृढ गर्न सकिन्छ।
तर सम्भावनाका ढोकाहरूसँगै वर्तमान समयमा यी जात्राहरूलाई तिनीहरूको मौलिक रूपमा संरक्षण गर्न गुठी संस्थानका लागि निकै चुनौतीपूर्ण बन्दै गएको छ। पहिलो र सबैभन्दा जटिल चुनौती गुठी जग्गाको अतिक्रमण र घट्दो आम्दानी नै हो। अमानत गुठीका जात्राहरूको खर्च व्यवस्थापन केन्द्रीय बजेटबाट हुने भए तापनि त्यसको मुख्य स्रोत पुर्खाले सुम्पिएका गुठी जग्गा (देवस्व) को आम्दानी नै हो। गुठी जग्गाबाट प्राप्त हुने कुत, बाली तथा सहरी क्षेत्रमा भएका गुठीका घर र पसलहरूबाट सङ्कलन हुने घरबहाल नै संस्थानको मुख्य आम्दानीका खम्बा हुन्। यही आन्तरिक बहाल र कुतको जगमा नै वर्षभरिका जात्रा र पूजाहरूको बजेट व्यवस्थापन हुने गर्दछ। तर सहरीकरणका नाममा जग्गा अतिक्रमण हुनु, मोहीसम्बन्धी पुराना कानुनी जटिलता खडा हुनु र न्यूनतम कुत एवं बहाल असुलीका कारण जात्राहरूको यो मुख्य आर्थिक आधार दिनदिनै कमजोर बन्दै गएको छ। दोस्रो चुनौती पुस्तान्तरण र जनशक्तिको अभाव हो। नयाँ पुस्तामा आधुनिक जीवनशैलीको प्रभाव र वैदेशिक पलायनको मोह बढ्दा रथ निर्माण गर्ने ज्यापु इन्जिनियरहरू, परम्परागत बाजा बजाउने गुठीयाहरू र विशिष्ट तान्त्रिक विधि जानेर गुरूहरूको चरम अभाव देखिन थालेको छ। तेस्रो चुनौती बढ्दो महँगी र आधुनिक भौतिक पूर्वाधारका बिच रथयात्राहरू तथा संवेदनशील तान्त्रिक पूजाहरू सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्नु जुन संस्थानका लागि प्रत्येक वर्ष कडा परीक्षा जस्तै बन्ने गरेको छ।
समयक्रमसँगै बजारमा बढेको अस्वाभाविक महँगीका कारण जात्रा र पर्वहरू सञ्चालन गर्ने खर्चमा अत्यधिक वृद्धि भएको छ। रथ निर्माणका लागि आवश्यक पर्ने विशेष काठ, बेत र डोरीको मूल्य मात्र होइन, रथका विभिन्न भाग, गजुर् र छत्रहरूमा कलात्मक रूपमा प्रयोग गरिने पित्तल, चाँदी तथा सुनको जलप (मलम्मा) जस्ता बहुमूल्य धातुहरू बजार मूल्य र तिनलाई तयार पार्ने कालिगढहरूको ज्याला आकाशिएको अवस्था रहेको छ। यस्तो अवस्थामा केवल गुठी जग्गा, घर र पसलबाट उठ्ने न्यून एवं परम्परागत बहाल र कुत आम्दानीका भरमा मात्र यति धेरै आर्थिक भार धान्न अत्यन्तै अव्यावहारिक भइसकेको छ। बढ्दो महँगी र धातुहरूको यो चर्को मूल्यका कारण जात्राको मौलिक स्वरूप र भव्यतामा आँच आउन नदिन गुठी संस्थानले अब स्थानीय सरकारहरू (महानगरपालिका तथा नगरपालिकाकारहरू) संग योजनाबद्ध रूपमा बजेट साझेदारीको मोडल अपनाउनु अनिवार्य देखिन्छ। सम्पदा र संस्कृति संरक्षणका लागि स्थानीय तहहरूमा उपलब्ध प्रचुर बजेट र स्रोतलाई गुठी संस्थानको व्यवस्थापकीय विज्ञतासँग जोड्न सके महँगीको चापका कारण जात्राहरू प्रभावित हुने जोखिम अन्य हुनेछ। प्रत्येक ठूला जात्रा र पर्वका लागि दीर्घकालीन प्रकृतिका स्वायत्त अक्षय कोषहरूको स्थापना र सुदृढ गर्दै लैजानु नै महँगीको यो चपेटाबाट हाम्रा अमूल्य सांस्कृतिक धरोहरहरू सुरक्षित राख्ने व्यावहारिक मार्गचित्र रहन्छ।
मुलुकभर रहेका अमूल्य सांस्कृतिक सम्पदाहरूको रक्षा गर्दै आगामी दिनमा गुठी संस्थानलाई अझ बढी प्रविधिमैत्री, पारदर्शी, उत्तरदायी र जनमुखी बनाउने संस्थानको दृढ सङ्कल्प र प्रतिबद्धता रहेको छ। तर, हामीले यो भुल्नु हुँदैन कि कुनै पनि ऐन, बजेट वा प्रशासनिक संयन्त्र आफैँमा पूर्ण हुँदैनन्। आधुनिकताको तीव्र प्रवाहमा पनि आफ्नो ज्यानको बाजी लगाएर रथ तानेर र संस्कृति जोगाउने गुठीयाहरू, मन्दिरको गर्व धान्ने महन्थ तथा पुजारीहरू, जात्रा व्यवस्थापन समितिहरू, स्थानीय निकायहरू, टोल सुधार समितिहरू, सुरक्षा निकायहरू र संस्थानको सिङ्गो ऊर्जावान् टीमको साझा एवं सहयोगार्थक सहकार्य विना यी ऐतिहासिक जात्रा, पर्व र पूजाहरूलाई निरन्तरता दिन असम्भव प्राय: छ। भौतिक विकासले देशमा समृद्धि त ल्याउला, तर हाम्रो साझा संस्कृति र रैथाने जात्राहरू जीवित रहे मात्र हाम्रो नेपाली हुनुको वास्तविक राष्ट्रिय पहिचान र गौरव अनन्तकालसम्म सुरक्षित रहनेछ।
पाण्डे गुठी संस्थानको उपप्रशासक छिन ।
प्रकाशित मिति : November 3, 2026 at 8:59 am










