१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

१० लाखभन्दा बढीको शेयर कारोबारलाई स्वतः शंकास्पद मान्न मिल्दैनः मनोज ज्ञवाली

९ कात्तिक, काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले १० लाख रुपैयाँ वा सोभन्दा बढीको शेयर कारोबारलाई स्वतः अवैध वा शंकास्पद मान्न नहुने बताएका छन् । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्थाअनुसार निश्चित सीमाभन्दा माथिका कारोबारको प्रतिवेदन बुझाउनुपर्ने भए पनि वैध स्रोतबाट आर्जित रकम लगानी गर्दा डराउनुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ ।

ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी नियमको उद्देश्य, यसको कार्यान्वयन र सर्वसाधारणले ध्यान दिनुपर्ने विषयबारे स्पष्ट पारेका हुन् । उनले गलत तरिकाले आर्जित सम्पत्तिमाथि निगरानी हुनुपर्ने उल्लेख गर्दै नियमअनुसार कमाएको रकम लगानी गर्दा अनावश्यक रूपमा त्रसित हुन नपर्ने बताएका छन् ।

उनका अनुसार एकै दिनमा एकैपटक वा पटक–पटक गरी १० लाख रुपैयाँ वा सोभन्दा बढीको धितोपत्र खरिद वा बिक्री भएमा सम्बन्धित संस्थाले वित्तीय जानकारी इकाइ (एफआईयू–नेपाल) मा कारोबारको प्रतिवेदन पठाउनुपर्ने व्यवस्था छ । यस्तो कारोबारको प्रतिवेदन कारोबार भएको १५ दिनभित्र बुझाउनुपर्ने व्यवस्था रहेको उनले उल्लेख गरेका छन् ।

बैंक निक्षेपको हकमा भने निश्चित सीमाभन्दा माथिको कारोबारको प्रतिवेदनसम्बन्धी व्यवस्था लामो समयदेखि कार्यान्वयनमा रहेको उनको टिप्पणी छ ।

ज्ञवालीले १० लाख रुपैयाँको सीमालाई कारोबारमाथिको प्रतिबन्धका रूपमा बुझ्न नहुने बताएका छन् । यो सीमा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न कारोबारको विवरण संकलन, प्रतिवेदन र निगरानीसँग सम्बन्धित रहेको उनको भनाइ छ ।

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी नियमको मुख्य उद्देश्य अवैध रूपमा आर्जित रकमलाई वैध देखाउने प्रयास रोक्नुका साथै भ्रष्टाचार, ठगी, कर छली तथा आतंककारी गतिविधिमा हुने वित्तीय लगानी नियन्त्रण गर्नु हो । यसले बैंकिङ प्रणाली र पुँजी बजारमा पारदर्शिता तथा जवाफदेहिता बढाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

ज्ञवालीका अनुसार १० लाख रुपैयाँ वा सोभन्दा बढीको कारोबार हुँदैमा त्यसलाई स्वतः अवैध वा शंकास्पद मानिँदैन । कारोबारको प्रकृति र जोखिमका आधारमा रकमको स्रोत खुलाउने कागजात मागिन सक्ने भए पनि त्यसलाई कारोबारमा प्रतिबन्ध लागेको अर्थमा बुझ्न नहुने उनको टिप्पणीको आशय छ ।

रकमको स्रोत खुल्ने प्रमाण सुरक्षित राख्न सुझाव

ज्ञवालीले सर्वसाधारणलाई आफ्नो रकमको वैध स्रोत पुष्टि हुने प्रमाण सुरक्षित राख्न सुझाव दिएका छन् । उनले सम्भव भएसम्म आफ्नै बैंक खातामार्फत कारोबार गर्न र प्रतिवेदनको सीमा छल्ने उद्देश्यले ठूलो कारोबारलाई कृत्रिम रूपमा टुक्र्याउने कार्य नगर्न पनि सचेत गराएका छन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी नियमको प्रभावस्वरूप वित्तीय अपराध नियन्त्रण, वित्तीय प्रणालीमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि तथा प्रणालीप्रतिको विश्वास बढाउन सहयोग पुग्ने उनको भनाइ छ । यस्ता व्यवस्थाले नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रयासमा समेत सहयोग पुर्‍याउन सक्छ ।

यद्यपि, नियमको कार्यान्वयनका क्रममा ग्राहकले थप कागजात जुटाउनुपर्ने र ब्रोकर तथा वित्तीय संस्थाको अनुपालन लागत बढ्न सक्ने विषयलाई पनि ध्यान दिनुपर्ने देखिन्छ । नियमबारे पर्याप्त जानकारी नहुँदा वैध लगानीकर्ता अनावश्यक रूपमा त्रसित हुने र त्यसले कारोबार प्रभावित पार्न सक्ने जोखिमसमेत रहन्छ ।

ज्ञवालीको निष्कर्ष छ— गलत तरिकाले आर्जित सम्पत्तिमाथि निगरानी हुनुपर्छ र त्यो आवश्यक पनि छ । तर नियमसंगत रूपमा कमाएको रकम लगानी गर्दा डराउनुपर्ने कुनै कारण छैन ।

प्रकाशित मिति : October 26, 2026 at 10:31 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/