नेपाल राष्ट्र बैंकको वेबसाइट अस्थायी रुपमा बन्द
८ कात्तिक, काठमाडौँ । विश्वव्यापी रूपमा वेब प्रविधि (पीएचपी) मा देखिएको गम्भीर सुरक्षा जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारिक वेबसाइट तथा अन्य सम्बन्धित सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ। केन्द्रीय बैंकले एक जरुरी सूचना जारी गर्दै सम्भावित साइबर सुरक्षा खतराबाट बच्न सेवाहरू केही समयका लागि स्थगित गरिएको जनाएको हो ।

वेबसाइट तथा सेवा अवरुद्ध हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय एवं सर्वसाधारणमा पर्न गएको असुविधाप्रति राष्ट्र बैंकले क्षमा मागेको छ। साथै, वेबसाइट बन्द रहेको अवधिभर बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीहरू आधिकारिक सामाजिक सञ्जाल मार्फत प्रवाह गरिने राष्ट्र बैंकले जनाएको छ।
साथै, विश्वव्यापी रूपमा देखिएको उक्त सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन, सर्भरमा प्रयोग भइरहेका प्रणालीहरूलाई सबलीकरण गर्न तथा नियमित सुरक्षा निगरानी बढाउन सम्पूर्ण बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक र विप्रेषण (रेमिट्यान्स) कम्पनीहरूलाई राष्ट्र बैंकले विशेष अपिल गरेको छ।
प्रकाशित मिति : October 25, 2026 at 9:50 am








