सेयर बजारमा बढ्दो आकर्षण, डिम्याट खाता खोल्नेको संख्या ८१ लाख पुग्यो
५ कात्तिक, काठमाडाैं । नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता उल्लेख्य रूपमा विस्तार भएको छ। पछिल्लो समय सेयर बजारप्रति लगानीकर्ताकाे आकर्षक बढ्दै गएको हाे । सेयर बजारप्रति आकर्षक बढेसँगै यस क्षेत्रमा प्रवेश गर्ने लगानीकर्ताकाे संख्यामा पनि दिनप्रतिदिन बढ्दै गहिरहेको छ।
सेयर बजारप्रति आकर्षक बढेसँगै डिम्याट (हितग्राही) खाता खोल्नेको संख्या ८० लाख ९८ हजार माथि पुगेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को पछिल्लो तथ्यांकअनुसार देशभर डिम्याट खाताको संख्या ८० लाख ९८ हजार पुगेको छ । डिम्याट खातासँगै मेरो सेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य बढेको देखिन्छ ।

सीडीएससीका अनुसार हालसम्म ७१ लाख ८८ हजार ९ सय ९८ जनाले मेरो सेयरमा खाता दर्ता (रजिस्टर्ड) गराइसकेका छन् । तीमध्ये बजारमा सक्रिय रहने मेरो सेयर प्रयोगकर्ताको संख्या भने ५१ लाख २३ हजार रहेको छ ।
तथ्यांकअनुसार हालसम्म विभिन्न कम्पनीका कुल २० अर्ब ४३ करोड ५५ लाख ८१ हजार ४ सय २९ कित्ता सेयर सूचीकृत भएका छन् । जसमध्ये ९५.६४ प्रतिशत अर्थात् १९ अर्ब ५४ करोड ५३ लाख ८१ हजार २ सय ८० कित्ता सेयर डिम्याट स्वरूपमा रूपान्तरण भइसकेका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्मको तथ्यांकअनुसार सेयर बजारमा महिलाको सहभागिता पनि बढ्दै गएको देखिन्छ । तथ्यांकअनुसार उक्त अवधिसम्म कुल डिम्याट खातामध्ये पुरुषको हिस्सा ५७.२१ प्रतिशत र महिलाको ४२.६७ प्रतिशत रहेको छ ।
प्रकाशित मिति : October 22, 2026 at 1:21 pm










